पत्रकार र मिडियाको मुद्दा हेर्नका लागि एकीकृत कानुनको आवश्यक

काठमाडौँ । पत्रकार आचारसंहिता उल्लङ्घन र मिडिया नियमनको जिम्मेवारी प्रेस काउन्सिल नेपाललाई नै दिनुपर्ने एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । नेपाल पत्रकार महासङ्घ पत्रकार आचारसंहिता अनुगमन तथा मानवअधिकार विभाग र प्रेस काउन्सिल नेपालको संयुक्त आयोजनामा भएको ‘अनलाइन सञ्चारमाध्यममा पत्रकार आचारसंहिता कार्यान्वयनको अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले त्यस्तो कुरामा जोड दिएका हुन् ।

नेपाल पत्रकार महासङ्घका सचिव तथा विभागका प्रमुख रमेश खतिवडाको अध्यक्षता तथा महासङ्घका अध्यक्ष निर्मला शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पत्रकार र मिडिया हेर्ने एकीकृत कानुन जरुरी रहेको भन्दै उनीहरूले नत्र भविष्यमा सबै पत्रकार र मिडियाले मुद्दा खेप्न बाध्य हुनुपर्ने बताएका थिए ।

पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पछिल्ला केही मुद्दाहरूको बहसमा महासङ्घको तर्फबाट सहभागी हुँदै गर्दा राज्यले मिडियालाई विभिन्न बहानामा कडाइ गर्न खोजिएको देखिएको बताए । पत्रकारलाई विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाही गर्ने कार्य गरिएकोले समस्या उत्पन्न भएको भन्दै उनले मिडिया र मिडियाले प्रकाशन गर्ने कन्टेन्टका विषयमा समस्या उत्पन्न भएमा त्यसको उजुरी लिने र कारबाही गर्ने जिम्मेवारी प्रेस काउन्सिललाई नै जिम्मेवार बनाउनुपर्ने बताए ।
‘पत्रकार र मिडियाको विषय प्रेस काउन्सिलले नै हेर्ने हो । काउन्सिलद्वारा नै उजुरी लिएर आवश्यक प्रक्रिया अगाडि बढाउने हो । तर पछिल्लो समय मिडियामाथि लगातार मुद्दा र उजुरी पर्दै आएको देखिन्छ’, अध्यक्ष शर्माले भने, ’हामीसँग उपयुक्त कानुनको अभाव पनि छ । विद्युतीय कारोबार ऐनअन्तर्गत पत्रकारको मुद्दा हेर्दा अहिले सबैभन्दा बढी पत्रकार मारमा परेका छन् । त्यसैले पत्रकार र मिडियाको मुद्दा हेर्नका लागि एकीकृत कानुनको आवश्यकता छ । जसमा सबैभन्दा बढी काउन्सिललाई जिम्मेवार बनाउनुपर्छ ।

अध्यक्ष शर्माले पत्रकार आचारसंहिता सबै पत्रकारले पालना गर्न आवश्यक रहेको भन्दै सबै पत्रकारले आफ्नो दायित्वलाई ध्यान दिँदै जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए ।

कार्यक्रममा ’अनलाइन सञ्चारमाध्यममा पत्रकार आचारसंहिता पालना’ विषयमा प्रस्तुति दिँदै वरिष्ठ सम्पादक हरिबहादुर थापाले ब्रेकिङ र क्लिकबेटका कारणले डिजिटल प्लेटफर्मका सम्पादकहरू समेत बढी जोखिममा रहेको बताए ।
कतैबाट दिइएको सूचना कुन समयमा र के उद्देश्यले दिइएको छ भन्ने कुरामा पनि विशेष ध्यान दिनुपर्ने उनको भनाई थियो । आचारसंहिता उल्लङ्घनको विषय अहिले उजुरी हुँदै अदालतसम्म जाने अवस्था सिर्जना भएको भन्दै उनले मिडियाको विषय प्रेस काउन्सिलले नै हेर्नुपर्ने उनले बताए । यस विषयमा नेपाल पत्रकार महासङ्घ आफैले पनि हेर्न सक्ने उनको भनाई थियो ।

त्यस अवसरमा ‘अनलाइन सञ्चारमाध्यम र पत्रकार आचारसंहिताको अवस्था’को विषयमा प्रस्तुति दिँदै राजेश राईले पत्रकार र मिडियामाथि पछिल्लो समय राज्यले गरेको व्यवहार प्रेस स्वतन्त्रता विरोधी भएको बताए ।

‘संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गरेको छ । तर पछिल्लो समय राज्यले पटक–पटक पत्रकारमाथि विभिन्न बहानामा मुद्दा चलाउने कार्य गरेको छ । नेपाल प्रेस र बिजमाण्डुमाथि अदालतले जुन कार्य गर्‍यो त्यो नै नेपाली मिडियाको नाडी छामेको जस्तो लाग्छ’, उनले भने, ’पछिल्लो समय शम्भु श्रेष्ठमाथि कर्मचारीले लेखेको प्रतिवेदनका आधारमा मुद्दा चलाइएको छ । दिलभुषण पाठकले सरकारमा रहेका व्यक्तिको बारेमा प्रश्न उठायो भनेर मुद्दा चलाइयो । यो विषयमा विभिन्न कुरा आएका छन् ।
प्रहरीले पक्राउ गरी जारी गरेको विज्ञप्तिका आधारमा समाचार बनाएर प्रकाशित गर्दा पनि उजुरी गरिएको र समाचार हटाउन दबाब दिइएको उनले बताए । ‘

पत्रकार र मिडिया हेर्ने एकीकृत कानुन जरुरी छ । त्यस अवसरमा प्रेस काउन्सिल नेपालका निमित्त मुख्य अधिकृत दीपक खनालले पत्रकार आचारसंहिता उल्लंघनको विषयमा प्रस्तुति दिँदै न्यु मिडियाका कारण भाइरल, प्रचारमुखी र क्लिकबेटको प्रचलन बढेकोले धेरै समस्या उत्पन्न भएको बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया