रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुपन्देही क्षेत्र नं २ मा उम्मेदवार बनेका सुलभ खरेललाई सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पीडितहरूले आफ्ना विषय पहिले सम्बोधन गर्न खबरदारी गर्दै प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीका अनुसार मङ्गलवार दिउँसो रुपन्देहीको निर्वाचन क्षेत्र नं २ अन्तर्गत बुटवल उपमहानगरपालिका वडा नं ११ होराइजन चोकमा सहकारी पीडितहरूले रास्वपा उम्मेदवार खरेललाई घरदैलोका क्रममा विरोध प्रदर्शन गरेको जनाएका छन् ।
हातमा तिम्रो नेता खोई ? लिएर आऊ, जेनजीका माग कसले पूरा गर्छ ? सिंहदरबार किन जलाएको ? लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर नाराबाजी गरेका पीडित उभिएको देखेपछि घरदैलो अभियानमा रहेका सुलभ नजिकैको एल डोराडो होटलभित्र छिरेर बसेको पीडितहरूले दाबी गरेका छन् ।
हामीले दुःख गरेर नखाई नखाई जम्मा गरेको पैसा कहिले फिर्ता हुन्छ ?, पीडितमध्येका चेतनाथ शर्माले भने, ‘हामीलाई यसको जवाफ दिनुपर्यो नि । सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जना बचतकर्ताको ७८ करोड ५० लाख रुपैयाँ भन्दा बढी रकम अपचलन भएको छ । अधिकांश बचतकर्ताहरू न्यून आय भएका छन् । उनीहरूले तीन वर्षदेखि रकम पाउन संघर्ष गर्दै आएका छन् । हामी पीडितको पैसा खाएका मान्छे खुलेआम हिड्ने, पैसा फिर्ता नहुने ? पीडितहरूले सामूहिक प्रश्न गरिरहेका छन् ।’
सुप्रिम बचत तथा ऋण सहकारीको १४ करोड २९ लाख रुपैयाँ भन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगानी भएको र यसमध्ये २ करोड रुपैयाँ प्रक्रिया पूरा नगरी रवि लामिछानेको नाममा ऋण लिएको भन्दै पीडितहरूको निवेदनका आधारमा अदालतमा मुद्दा चलिरहेको छ । गोरखा मिडिया नेटवर्कले ११ फागुन २०७७ मा ग्यालेक्सी टीभी सञ्चालनमा ल्याएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया