काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ(नेविसंघ)ले संगठनको कार्यगत स्वयत्तताका लागि अब पार्टीको भ्रातृ संगठन नरहने निर्णय गरेको छ । शुक्रबार बसेको नेविसंघको सिनेट बैठकले संगठनलाई स्वचालित बनाउने भन्दै अब उप्रान्त पार्टीको भ्रातृ संगठन नरहने निर्णय गरेको हो ।
‘नेविसंघले खोजेको कार्यगत स्वयत्तता हो । पार्टीको भ्रातृ संगठनका रूपमा रहँदा हरेक निर्णय पार्टीको निर्देशनमा गर्नुपर्ने बाध्यता रह्यो । जसले विद्यार्थी आन्दोलनका विषयमा हामी प्रभावकारी हुन नसक्ने भयौँ,’ नेविसंघका प्रवक्ता सुरज सेजुवालले भने, ‘यसैले नेविसंघको अधिकार सम्पन्न सिनेट बैठकबाट हामी यो निर्णयमा पुगेका छौँ ।’
कांग्रेसको भ्रातृ संगठन नरहने भन्नुको अर्थ पार्टी र आस्था नै छाडेको भन्ने नहुने प्रवक्ता सेजुवालले बताए । ‘हामी कांग्रेसभन्दा पर हुन्नौँ । पार्टीकै मूल्यमान्यता आत्मसात् गर्छौँ । बीपी कोइरालाले प्रतिपादन गरेको सिद्धान्त नै हाम्रो मार्गनिर्देशक सिद्धान्त रहन्छ,’ उनले भने ।
नेविसंघ पार्टीको भ्रातृ संगठन रहँदा विद्यार्थी आन्दोलनका मुद्दा उठाउन नसकेको, आफै व्यवस्थित र स्वचालित संगठन हुन नसकेको गुनासो नेविसंघका पदाधिकारीहरूको छ ।
‘कतिसम्म भने हाम्रो अधिवेशन स्वचालित नै हुन सकेन । समिति आउन पनि पार्टीको सभापति र कार्यसम्पादन समितिको निर्णय चाहिने, उहाँहरूले चाहे, गठन र विघटन हुने । विधान संशोधन चाहे पार्टीलाई पर्खिनुपर्ने । यसले नेविसंघ प्रभावकारी हुन नसकेको हाम्रो समीक्षा रह्यो,’ प्रवक्ता सेजुवालले भने ।
यस्तै कांग्रेस सरकारमा रहँदा हुने गलत निर्णय र अकर्मण्यताको भारी पनि नेविसंघले बोक्नुपर्दा संगठनको साखमा पनि क्षति पुगिरहेको उनले बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया