पर्वतका रास्वपा सांसद भुसालले कर्मचारीलाई भने-हाम्रा मान्छेको काम गर्नू

पर्वत: राष्ट्रिय स्वतन्त्र पार्टीका पर्वतका सांसद सागर भुसालले आफ्नो सचिवालयलाई सहयोग गर्न भनेर जिल्लाका सबै सरकारी कार्यालयका प्रमुखलाई उर्दी जारी गरेका छन् । उनले ८ वैशाखमा एक पत्र लेखेर जिल्ला प्रशासन कार्यालय तथा पर्वत जिल्लाका सबै कार्यालयलाई बोधार्थ दिएका छन् ।
सबैभन्दा रोचक पक्ष उनले पत्रमा ‘सम्पूर्ण पालिका तथा कार्यालयहरू’लाई जिल्ला प्रशासन कार्यालय ‘मातहत’का भनेका छन् । जुन सरासर गल्ती हो । स्थानीय सरकार आफैँमा स्वायत्त सरकार हो । जिल्ला प्रशासनको मातहतमा हुँदैनन् पालिकाहरू ।

‘जानकारी सम्बन्ध’मा भन्दै पत्रमा भुसालले भनेका छन्, ‘म, प्रतिनिसभा सदस्य सागर भुसालले मेरो सचिवालयमा विभिन्न कार्य सञ्चालन तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उदेश्यले देहाय बमोजिमका सचिवालय सदस्यहरू चयन गरेको सम्बन्धित सबैमा जानकारी गराउँदछु ।’

भुसालले नाम टिपाएका १३ सचिवालय सदस्यहरू
१. चुडामणी खनाल
२.दिनेश थापा
३. अशोक भुर्तेल
४. इन्द्र जिसी
५. नवराज केसी
६. नारायण भुसाल
७. घैलेन्द्र केसी
८. गंगालाल रिमाल
९. गरुदत्त सुवेदी (नविन)
१०. रमेश कुमार श्रेष्ठ
११. राजु प्रसाद शर्मा
१२. लेखनाथ रिजाल
१३. केशव लामिछाने
सचिवालय सदस्यको नाम टिपाउने मात्रै होइन, सबै कार्यालय प्रमुखलाई बोलाएर सांसद भुसालले बैठक गरेर रास्वपालाई महत्त्व नदिएकोमा चिन्ता पनि गरेका थिए । उनले कार्यालय प्रमुखलाई बोलाएर भनेका थिए, ‘हाम्रा आधिकारिक व्यक्तिहरू हाम्रा सम्पूर्ण कार्यालय प्रमुखहरूलाई जानकारी पनि दिएका छौँ । त्यही अनुसार सहयोग पनि गर्दिनुहोला ।’

सांसदले सचिवालय सदस्य टिपाएपछि काम गर्न गाह्रो भएको एक पालिकाका प्रशासकीय अधिकृतले बताए । उनले भने, ‘देशका बिचौलीया हटाउने सरकारले सांसदको सचिवालयको नाममा बिचौलिया जस्तै पठाउनु राम्रो भएन । जनताको कानुननले दिएको काम गर्न तेस्रो व्यक्ति पठाउनै पर्दैन ।’@शिलापत्र

फेसबुकबाट तपाइको प्रतिक्रिया