मकवानपुर । बागमती प्रदेश सभाको सभामुख चयनमा ढिलाइ भएको छ । राजनीतिक सौदाबाजीका करण सभामुख चयन प्रक्रिया पेचिलो बनेको हो ।
सभामुख चयनका लागि प्रदेश सभा सचिवालयले कार्यतालिकासमेत जारी गर्न सकेको छैन, जसले कानुनी र संवैधानिक जटिलता थपिदिएको छ । संविधान अनुसार सभामुख वा उपसभामुख रिक्त रहेको अवस्थामा सभा सञ्चालनको १५ दिनभित्र नियुक्ति प्रक्रिया अघि बढाउनु पर्ने प्रावधान छ । तर, उक्त समय सीमा अनुसार सभामुख चयनका लागि बागमती प्रदेश सभाले प्रक्रिया अघि बढाउन सकेको छैन ।
गत चैत २४ गते बसेको प्रदेश सभा बैठकमा तत्कालीन सभामुख भुवन कुमार पाठकको राजीनाबारे जानकारी गराइएको थियो । सोही अनुसार वैशाख ८ गतेभित्र सभामुख चयन प्रक्रिया थाल्नु पर्ने थियो, तर दलहरूबिच सहमति हुन नसक्दा सभामुख चयनका लागि प्रदेश सभा बैठक आह्वान हुन सकेन ।
बागमती प्रदेश सभा सचिवालयका कानुन उपसचिव प्रकाश चापागाईंले उपसभामुख सक्रिय रहेको अवस्थामा सभामुखको अनुपस्थितिलाई पूर्णतः असंवैधानिक भन्न नमिल्ने बताए । उनले राजनीतिक दलहरूबिचको खिचातानीले सभामुख चयन प्रक्रिया प्रभावित भएको प्रस्ट पारे ।
संसदीय शासन व्यवस्थामा कार्यपालिकाको छाया व्यवस्थापिकामा पर्ने गरेको उपसचिव चापागाईंले बताए । संविधानको धारा १८२ को व्यवस्था अनुसार प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख चयन गर्नुपर्ने व्यवस्था भए पनि हालको अवस्थालाई सत्ता पक्षले फरक ढंगले व्याख्या गरिरहेको उनको भनाइ छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया