काठमाडौं । विश्वभर सामाजिक दूरी कायम राख्न गरिएका प्रयास छिटै खुकुलो पार्दै जाने हो भने कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या उल्लेख्य मात्रामा बढ्न सक्ने चेतावनी दिएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक टेड्रोस अधानोम गेब्रेससले केही मुलुकले आर्थिक समस्याको सामना गर्नुपरेको भए पनि सामाजिक दूरी कायम राख्न गरिएका प्रयास खुकुलो पार्ने विषयमा भने सतर्क हुनुपर्ने बताए । बीबीसीका अनुसार यूरोपको सबैभन्दा प्रभावित मुलुकहरु स्पेन र इटालीले मुलुकमा लगाइएको केही प्रतिबन्ध खुकुलो पार्ने तयारी भइरहेको छ । तर, उनीहरुको लकडाउन भने जारी छ । अहिले विश्वभर संक्रमितको संख्या १६ लाख नाघिसकेको छ भने मृत्यु हुनेको संख्या पनि एक लाख दुई हजार नाघिसकेको छ ।
जेनेभामा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले पछिल्लो समय यूरोपेली मुलुकमा यो महामारी सुस्ताउँदै गएको बताए । उनले डब्लुएचओले अहिले कडाइ बढाउने विषयमा विश्वभरका मुलुकहरुसँग सहकार्य गरिरहेको बताए ।
अफ्रिकाको ग्रामीण क्षेत्रमा पनि यो भाइरस पुगिसकेको भन्दै आगामी दिनमा अवस्था अझै नराम्रो बन्न सक्ने चेतावनी दिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया