काठमाडौं । सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अभिव्यक्तिमाथि संसद्मै प्रश्न उठेको छ । नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी लगायतले सीमा विवादबारे प्रधानमन्त्री बालेनको अभिव्यक्तिलाई संसदीय रेकर्डबाट हटाउन माग गरेका छन् ।
नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश मल्लले भनेका छन्, ‘मुलुकको राष्ट्रिय अखण्डतामा आँच आउने खालको अभिव्यक्ति सम्माननीय प्रधानमन्त्रीज्यूले जसरी जिम्मेवार व्यक्ति, जिम्मेवार सदनको रोष्ट्रमबाट व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री बालेनले ‘अनौपचारिक कुराकानीमा राखेको विषय जस्तो सम्झिए जस्तो गरी बोलेको हुन सक्ने भन्दै उनले थपे, ‘यो कुरा धेरै नै गम्भीर छ ।’
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेनले नेपाल भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने बताएका थिए ।
त्यसक्रममा उनले भनेका थिए, ‘म प्रधानमन्त्री भएपछि थाहा पाएको भारतले मात्र होइन नेपालले पनि भारतको जग्गा मिचेको रहेछ ।’ सीमा विवादको विषयमा दुईपक्ष बसेर हेर्ने पनि उनको प्रतिवद्धता थियो ।
यसमा प्रश्न उठाउँदै सांसद मल्लले भने, ‘के अरु कुनै मुलुकका प्रमुख/राष्ट्र प्रमुखहरूले मञ्चमा बसेर हामीले फलानो देशको भूमि मिचेका छौं भन्छन् होला ? यो कति गम्भीर विषय छ ।’
यसकारण पनि प्रधानमन्त्रीको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउनुपर्ने उनको माग छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया