बजेटले सरकारी कर्मचारीमा ल्यायो खुशीयाली, ४० हजारदेखि १ लाखसम्म तलब

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेटले सरकारी कर्मचारीहरुमा खुशीयाली छाएको छ । आगामी आर्थिक वर्षबाट उनीहरुको पाउने पारिश्रमिकमा उल्लेख्य वृद्धि गरेका छन् ।

अर्थमन्त्रीको घोषणाअनुसार सबै तहका कर्मचारीको आधारभूत तलव १० प्रतिशतले बढाइएको हो । यसका अतिरिक्त उनीहरुले कार्यसम्पादनका आधारमा १० प्रतिशत प्रोत्साहन भत्ता पाउने छन् ।
सिद्धान्ततः प्रोत्साहन भत्ता राम्रो कार्यसम्पादन गरेका आधारमा सीमित कर्मचारीलाई दिइनुपर्ने भए पनि नेपालमा त्यस्तो अभ्यास छैन । सबै कर्मचारीले प्रोत्साहन भत्ता पाउने गरेका छन् । कार्यलय प्रमुले कसैको कार्यसम्पादनमा त्रुटि देखाएर उक्त भत्ता नदिन सिफारिस गरेको खण्डमा मात्रै रोकिन्छ ।

साथै, यसअघि दिइँदै आएको महंगी भत्तालाई पनि कायम राखिएको छ । ग्रेडिङसमेतको हिसाब गर्दा सरकारी कर्मचारीको पारिश्रमिकमा २१ प्रतिशत बढेको अर्थमन्त्री वाग्लेले बताए ।

सरकारी सेवाको सबैभन्दा तल्लो तहका कर्मचारी (कार्यालय सहयोगी) ले पनि ४० हजार (ग्रेडसहित) बुझ्न सक्ने भएका छन् । यसअघि कार्यालय सहयोगीको तलव स्केल २७ हजार ६१२ रुपैयाँ थियो । त्यसमा १० प्रतिशत थपिएर ३० हजार ३७३ पुगेको छ । साथै, उनीहरुले थप १० प्रतिशत प्रोत्साहन भत्ता र रु. ५ हजार महंगी भत्ता पाउनेछन् । कुल मिलाएर उनीहरुले मासिक ३८ हजार ४१० रुपैयाँ पाउँछन् ।
यो ग्रेडबिहिनले पाउने न्यूनतम पारिश्रमिक हो । ग्रेडसहित कार्यालय सहयोगीले ४० हजारभन्दा बढी पाउने अर्थमन्त्री डा. वाग्लेले बताएका छन् ।

निजामति कर्मचारीको सबैभन्दा उच्च तह अर्थात मुख्यसचिवले १ लाखभन्दा बढी बुझ्नेछन् । उनीहरुको बेसिक तलव ७७ हजार २१ थियो, जसमा १० प्रतिशत बढेर ८४ हजार ९३२ पुगेको छ । यसमा प्रोत्साहन भत्ता र महंगी भत्ता थपिँदा ९८ हजार ४२५ रुपैयाँ हुन्छ । ग्रेडको पनि हिसाब गर्दा १ लाखभन्दा बढी बुझ्नेछन् ।

यसैगरी सचिवले ९२ हजार २१९ रुपैयाँ, सहसचिवले ७३ हजार ७१३, उपसचिवले ६० हजार ३४२ रुपैयाँ न्यूनतम पाउनेछन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया