कोरोना संक्रमण आशंका : युगाण्डाका प्रधानमन्त्री रुगुन्दा आइसोलेसनमा

एजेन्सी । कोरोना भाइरस संक्रमणको आशंकमा युगाण्डाका प्रधानमन्त्री रुहकाना रुगुन्दा आइसोलेसनमा बसेका छन् । उनीसँगै सम्पर्कमा आएको व्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित भएको परीक्षणबाट पुष्टि भएपछि उनले एकान्तमा बस्ने घोषणा गरेका छन् ।

उनको सम्पर्कमा रहेका व्यक्तिलाई शुक्रबार कोरोना पुष्टि भएपछि प्रधानमन्त्री आफै आइसोलेसनमा बसेको अधिकारीहरुले जानकारी दिएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘साथीहरु म आफै आइसोलेसनमा बस्न थालेको छु, कोरोनाभाइरस परीक्षणका क्रममा मेरो रिपोर्ट ठीक आएको भएपनि मेरो सम्पर्कमा रहेको व्यक्तिमा सङ्क्रमण पुष्टि भएकोले स्वास्थ्य अधिकारीहरुको निर्णय र सुझाव अनुसार म आइसोलेसनमा बस्न लागेको हुँ । उनि कोरोनाभाइरस विरुद्धको लडाईमा देशको नेतृत्व गरिरहेका थिए । उनि मातहत नै यससम्वन्धी समिति रहेको थियो । स्वास्थ्य मन्त्रालयले सवै मन्त्रीहरुको स्वास्थ्य परीक्षण गरेपछि प्रधानमन्त्रीलाई अलग बस्नुपर्ने निश्कर्ष निकालिएको थियो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता इम्यानुएल एनेब्युनाले उनिहरुको फेरि केही दिनमा दोहोर्‍याएर परीक्षण गरिने जानकारी दिए । युगाण्डाको स्वास्थ्य मन्त्रालयका अनुसार युगाण्डामा शुक्रबारसम्ममा ५५७ व्यक्ति सङ्क्रमित रहेका छन् भने ८२ जना निको भएर घर फर्किएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया