काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्री र राज्यमन्त्रीहरूलाई बोलाएर राष्ट्रपति र आफूविरुद्ध षडयन्त्रहरू भइरहेको बताएका छन् । यस्तो बेलामा आफूले मन्त्रीहरूलाई तपाईहरू कुन कित्तामा भनेर प्रश्न गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनीसमेत दिएका छन् ।
प्रधानमन्त्री ओलीले बालुवाटारमा मन्त्रीहरूसँग छलफल गर्नुपूर्व शीतल निवासमा राष्ट्रपतिलाई भेटेका थिए ।
प्रधानमन्त्री ओलीले राष्ट्रपति र आफूविरुद्ध षड्यन्त्रहरू भइरहेको भन्दै मन्त्रीहरूलाई आ(आफ्नो कित्ता स्पष्ट पार्न चेतावनीयुक्त भाषा प्रयोग गरेपछि ऊर्जामन्त्री वर्षमान पुन प्रधानमन्त्रीलाई जवाफ दिन तम्सिए ।
स्रोतका अनुसार मन्त्री पुनले प्रधानमन्त्रीलाई भने, ‘यदि त्यस्तो हुन लाग्यो भने हामीसँग सिङ्गो पार्टी छ, संसदीय दल छ, यस्ता संस्थाहरूमा यसबारे छलफल गर्दाखेरि तर्कपूर्ण कुराहरू आउन सक्छन् र आशंका एवं समस्याहरूको समाधान हुन सक्छ ।’
कृषिमन्त्री घनश्याम भुसालले प्रधानमन्त्री ओलीलाई दोस्रो विश्वयुद्धकालमा बेचिएका पोष्टरहरूको स्मरण गराउँदै गलत सूचनामा नबग्न आग्रह गरे ।
मन्त्री भुसालले अझ अगाडि बढेर प्रधानमन्त्रीलाई थपे, ‘ प्रधानमन्त्रीज्यू, तपाईं शीर्षस्थ नेताहरू यस्ता गलत सूचनाले बहकिएका यथेष्ट प्रमाणहरू मसँग छन् ।’
पुन र भुसाललगायत केही मन्त्रीका कुरा सुनिसकेपछि प्रधानमन्त्री ओलीले ल अब आजको छलफल यति नै भन्दै छलफल सकिएको जनाउ दिएका थिए ।
प्रधानमन्त्री ओलीले सबै मन्त्रीहरूलाई बालुवाटारमा बोलाए तापनि यसलाई मन्त्रिपरिषद् बैठक नभएर अनौपचारिक छलफलको रूपमात्रै दिइएको थियो । प्रधानमन्त्री ओलीले यो सरकार कुनै हालत ढल्दैन भन्दै ढुक्क भएर काम गर्न मन्त्रीहरूलाई निर्देशन दिएका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया