पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले विज्ञप्तिका भरमा पार्टी नचल्ने बताएका छन् ।
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ बल्थलीमा अगुवा कार्यकर्ता भेलालाई शनिबार सम्बोधन गर्दै उहाँले पार्टीका नेताकार्यकर्ताको भावनासहित उहाँहरुको क्रियाशीलताले पार्टी चल्ने बताएका हुन् ।
नेकपाका केन्द्रीय सदस्यसमेत रहेका नेता बाँस्कोटाले आफ्नै पार्टीभित्र निषेधको राजनीति नगरी खुल्लमखुला राजनीति गर्न चेतावनीसमेत दिएका छन् ।
बाँस्कोटाले ठूलो पार्टीमा कहिलेकाहीँ समस्या देखिने स्वीकार्दै वर्तमान समस्या केही दिनमै हल हुनेमा आफू विश्वस्त रहेको बताए। उनले भने, “नेकपा पार्टीलाई कसैले दुर्घटनातर्फ लैजान सक्दैन, दुर्घटनामा जान कार्यकर्ताले कुनै पनि हालतमा अनुमति दिँदैनन् ।” नेकपाको वर्तमान सरकारमा युगिन अभिभारा भएको दाबी गर्दै उनले कोही पनि विचलित नहुन आग्रह गरे।
नेता बाँस्कोटाले यसअघिका सरकारले लिपुलेक र लिम्पियाधुराका विषयमा कुनै पनि विषय नउठाएको उल्लेख गर्दै नेकपाको सरकारले वास्तविक नक्सा जारी गरी भूमि फिर्ता ल्याउन भारत सरकारसँग वार्ता गर्ने विश्वास व्यक्त गरे।
उनले संसारको सबै देश आफ्नो प्राकृतिक स्रोतसाधन तथा सीपले समृद्ध बनेको उल्लेख गर्दै नेपालले पनि सोही अनुशरण गर्दै विकासको सही दिशा पक्रेको दाबी गरे।

फेसबुकबाट तपाइको प्रतिक्रिया