काभ्रे । काभ्रे पलाञ्चोक जिल्लामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
धुलिखेल अस्पतालमा उपचाररत धुलिखेल नगरपालिकाका ९८ वर्षीय वृद्धको मंगलबार बिहान निधन भएको अस्पतालले जानकारी दिएको छ ।
साउन २७ गते कोरोना पुष्टि भएपछि उनलाई धुलिखेल अस्पतालमा राखेर उपचार गरिएको थियो । उनमा कोरोना पोजेटिभ देखिए लगत्तै उनीसँगै बस्ने बुहारी र छोरामासमेत कोरोना पुष्टि भएको छ ।
यस अघि जिल्लामा पाँचखाल नगरपालिका वडा नम्वर १ घर भएकी ५२ वर्षिया महिलाको कोरोनाकै कारण उपचारका क्रममा साउन २६ गते किस्ट अस्पताल काठमाडौंमा निधन भएको थियो । योसँगै काभ्रेमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ पुगेको छ ।
जिल्लामा संक्रमति देखिएका ८० मध्ये २ को निधन भएको, ३४ जना उपचारपछि घर फर्किएको र बाँकीको उपचार भइरहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्रकुमार झाले जानकारी दिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया