काठमाडौं । हिन्दु नारीहरुको महान चाड हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ ।
भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।
विवाहित नारीहरुले अटल सौभाग्यको श्रीमान्को दीर्घायुको कामना गर्दै तीज मनाउने प्रचलन रहेको छ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ ।
सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाउनुभएकोले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । तीजको दिन महिला दिदिबहिनीहरुले निराहार व्रत बसी भगवान शीवजीको पूजा आराधना गर्ने गरिन्छ ।
नारीले परिवारको अभिभावकका रुपमा प्रतिनिधित्व गरी व्रत बस्ने भएकाले नसकेका अवस्थामा अथवा रजस्वला भएका बेलामा पुरुषले पनि व्रत बस्ने गरेका छन् । यस अर्थमा अहिले केही नारीवादीले उठाएजस्तो विभेदकारी व्रत परम्परा पनि तीज नभएको धर्मशास्त्रविद्हरुको भनाई छ ।
समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेकोे धर्मशास्त्रीहरुको मत छ । आत्मावादी र ईश्वरवादी दुवैले यो व्रत लिने गरेका छन् । समग्रमा परिवारको यस लोकमा सुख, शान्ति र पारलौकिक सद्गतिका लागि तीजको व्रतको महत्व छ ।
तर यसपटक कोरोना महामारीका कारण विगतमा झै चहलपहल भने हुन सकेको छैन । कोरोनाका कारण मन्दिरहरुमा विगतमा झै भक्तजनको घुइचो त्यति छैन । कोरोना रोकथाम तथा नियन्त्रणका लागि काठमान्डौ उपत्यका सहित देशका प्राय विभिन्न जिल्लामा जारी निषेधाज्ञाका कारण घर घरमै तीज मनाउन आग्रह सरकारले पनि गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया