नारीहरुको पर्व हरीतालिका तीज: विगत र वर्तमान अबस्था

-प्रदिप घिमिरे| हरीतालिका तीजलाई विश्वभरका हिन्दु नारीहरुको महान पर्वको रुपमा लिइने गरिन्छ । तीज पर्वलाई नेपाल, भारत लगायत विश्भर छरिएर रहेका हिन्दु नारीहरुले मनाउने गरेको पाइन्छ । हरीतालिका तीज विशेष गरेर पार्वतिमा समर्पित छ । पार्वति भगवान शीवकी पत्नि हुन् । हिमालय पर्वतकी छोरी पार्वर्तिले निराहार व्रत बसेर भगवान शिव प्राप्त गरेकी हुन् भन्ने विभिन्न शास्त्रहरुमा उल्लेख भएको पाइन्छ । हरीतालिका तीज विवाहित नारीहरुले आफ्नो श्रीमानको शुख, शान्ति, समृद्दि, शुस्वास्थ्य एवम् दीर्घजीवनको लागि निराहार उपवास बस्ने गर्दछन् भने अविवाहित नारीहरुले भविश्यमा भगवान शीव जस्तो असल पति प्राप्त गर्नको लागि निराहर उपवास वस्ने चलन चल्दै आएको छ । हरीतालिका तीजलाई सच्चा प्रेम र पति प्रतिको समर्पणको रुपमा पनि लिइने गरेको पाइन्छ । तीजलाई नारीहरुले महान उत्सवको रुपमा लिने गर्दछन् । तीजमा नारीहरु रातो साडी र सुनका गरगहना सजिसज्जाउ भएका हुन्छन् ।

भगवान शिबलाई विनाश र श्रृष्टि भनेर चिनिन्छ भने पार्वतिलाई देवी शक्ति र प्रकृति भन्ने गरेको पाइन्छ, त्यसैले तीजलाई यी दुई बीचको मिलनको रुपमा पनि लिइने गरेको गरिन्छ । पार्वती सानै देखि भगवान शिवको तपस्या र आरधना गरेर बस्ने गर्दथिन् । यस दिन निराहार व्रत वस्नाले पति पत्निको सुमधुर माया प्रेम हुने भन्ने जनविश्वास रही आएको छ ।

तीज प्रायजसो नेपाली पात्रो अनुसार भाद्र महिनामा पर्ने गर्दछ । त्यसैले तीजलाई चाँदनी पर्वको रुपमा पनि लिइने गरिन्छ । तीजको दिन हिन्दु नारीहरु विशेष गरेर विभिन्न स्थानमा रहेका शिब मन्दिर जाने गर्दछन् । तीजको दिन भगवान शिव र पार्वतीको विशेष पुजा, आरधना, भजन, किर्तन गर्ने गर्दछन् । तिजको दिन निराहार उपवास यानीकी व्रत बस्ने दिन पनि हो । यस दिन उपवास बस्ने भएकाले हिन्दु नारीहरुले रातो सारी, रातै चुरा, रातै टिकी, रातै मेहन्दी र सुन चाँदीले सजिसज्जाऊ भएर शिवालयमा शिव पार्वतिको पूजा पाठ गरी भगवानकै नाममा रचित भजन, किर्तन र गीत गाई छमछम पाउजु बजाई नाच्ने गर्छन् । तीजलाई विवाह पछिको सुखद दाम्पत्य जीवनको रुपमा पनि लिइने प्रचलन छ । हरीतालिका तीज शिव पार्वतिको मिलन भएको दिन हो, त्यसैले मिलन दिवसको सम्झनाका रुपमा लिइने गरेकाले भगवान शीब र पार्वतीको नाममा भजन किर्तन गरेर रात विताउने गरिएको पाइन्छ ।

तीजको अवसरमा विवाह गरेर गएका छोरीहरुलाई निम्ता गरेर माइतीघर बोलाउने चलन चलिआएको छ । विवाह गरेर गएकी छोरी वर्खामासको काममा थाकेकी हुन्छिन्, तीजको अवसरमा छोरीलाई माइति आउने अवसर पनि मिल्ने भएकाले तीजलाई माइति आएर आफ्ना आमाबुबा र टाढा टाढा भएको साथीसंगीलाई भेट्ने अवसरका रुपमा पनि लिइन्छ । तीजको अघिल्लो दिन दर खाने चलन छ । दर खाने बेलामा घरका सम्पूर्ण सदस्यहरु भेला भई विभिन्न मिष्ठान्न परिकारहरु बनाएर राती १२ बजेसम्म बसेर खाने गरिन्छ । तीजको अघिल्लो दिन विशेष गरेर खीर बनाइन्छ । खीरमा विभिन्न १२ मसलाहरु प्रयोग हुने भएकाले वर्खामासमा भिजेर गडेको चियो पनि निर्मूल हन्छ भन्ने भनाई छ । भोपिल्ट तीजको दिन निराहार व्रत बसी मन्दिरमा गएर आफ्नो वर्षदिन भरीको दुःख पीडा गीत संगीत मार्फत पोख्ने गरिन्छ । तर हिजो आज आएर तीजलाई केही नारीहरुले एक महिना अगाबै साथी भाई जमघट भई मनाउने चलन चल्दै आएको छ । यो एक प्रकारले राम्रो हो भने अर्कोे प्रकारले विकृति पनि निम्त्याएको यदा कदा पाइन्छ । तीजको आफ्नै प्रकारको महिमा भएकाले तीजलाई भड्किलो पार्टीको रुपमा नभई तीजकै रुपमा लिनुपर्दछ ।

तीजको दिन हिन्दु नारीहरुले पानी पनि नखाई निराहार व्रत बस्ने गर्दछन् । यस दिन विभिन्न शिवालयमा गएर भगवान शिव पार्वतीको पूजा आराधना गरी आर्शिवाद लिइने गरिन्छ । बेलुका भएपछि सक्नेहरुले पानी पनि पिँदैनन् भने नसक्नेहरुले ताजा फलफूल, दुध र काँडापानी पिउने गर्दछन् ।

तीजको भोलिपल्टन यानिकी चतुर्थीमा हिन्दु नारीहरु एका विहानै उठेर सम्भब हुनेले गंगामा गएर स्नान गर्छन् भने नसक्नेहरुले आफूलाई जहाँ सहज हुन्छ त्यहाँ गएर स्नान गर्छन । स्नान पश्चात विवाहित नारीहरुले शिवलिंग बनाएर पुजा आरधाना गर्छन् र आफ्नो पतिको पाऊ धोएर पानी खान्छन् ।

तीजको चौथो दिन यानिकी ऋषि पञ्चमीको दिन रजश्वला भएका नारीहरुले सबेरै उठी गंगातटमा गई पवित्र स्नान पश्चात सप्तर्षिहरुको पूजा आरधना गरी पण्डितलाई गक्ष अनुसारको दान दक्षिणा भेटी गरी विधिवत रुपमा पूजा समाप्तिसंगै हरीतालिका तीजको समाप्ति हुन्छ । @मन्थली न.पा. वडा नं. ४ सालु, रामेछाप)

फेसबुकबाट तपाइको प्रतिक्रिया