दोस्रो मोना ईताबासी नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा

टोकियो । दोस्रो मोना ईताबासी नेपाल फेस्टिवल २०२६ को तयारी अन्तिम चरणमा पुगेको छ।
म्याग्दी प्रवासी नेपाली संघ ९मोना० जापानले आयोजना गरेको उक्त फेस्टिवलको तयारी अन्तिम चरणमा पुगेको टोकियोमा प्रेस मीट आयोजना गरी जानकारी दिएको छ।
आगामी अप्रिल ११ र १२ तारिखमा आयोजना हुने दोस्रो म्याग्दी मोना ईताबासी नेपाल फेस्टिवलको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो ।
फेस्टिवलका लागि दाइतो विश्वविद्यालय, ईताबासी क्याम्पसको विशेष प्रस्तुति रहनेछ भने नेपाली राजदूतावास जापान र ताकाशिमादाइरा प्रहरीको जानकारीमूलक स्टलहरू पनि रहने बताइएको छ ।
फेस्टिवलमा नेपाली १२ र जापानी ११ गरी कुल २३ वटा स्टल रहने जानकारी दिइएको छ। दुई दिने फेस्टिवलमा करिब १५ हजार दर्शकको सहभागिता रहने र ५० देखि ६० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार हुने संयोजक कार्कीले बताउनुभयो । फेस्टिवलमा म्याग्देली कलाकार रवि कार्की, गायक सूर्य खड्का लगायत चर्चित कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा एनआरएनए आईसीसीका नवनिर्वाचित उपाध्यक्ष तथा मोना जापानका सल्लाहकार ददिवल खड्का, नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष तथा मोना जापानका सल्लाहकार तिलक मल्ल, कलाकार रवि कार्की र नेपाल पत्रकार महासंघ जापानका सचिव अर्जुन लामिछानेले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम मोना जापानका अध्यक्ष गणेश श्रेष्ठको अध्यक्षता तथा महासचिव सुरेश पुनको सञ्चालनमा सम्पन्न भएको थियो।

फेसबुकबाट तपाइको प्रतिक्रिया