उपत्यकामा २१६ सहित ६३४ मा कोरोना पुष्टि,संक्रमितको संख्या ३१ हजार नाघ्‍यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोेजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ सय ३४ जनामा संक्रमण पुष्टि भएको बताएका हुन् ।

काठमाडौंमा १ सय ६० जनामा, भक्तपुरमा ५० जनामा र ललितपुरमा ६ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै कूल संक्रमितको संख्या ३१ हजार १ सय १७ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १२ हजार ५ सय १९ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ११ हजार ६ सय ५८ जना रहेका छन् । आइसोलेसनमा १२ हजार ६ सय २१ जना सक्रिय संक्रमित रहेका छन् ।

शनिबार थप १ सय ३६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार ३ सय ५० पुगेको मन्त्रालयले जनाएको छ । यस्तै, कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार सुनसरीमा एक ६ वर्षीया बालिका र एक पुरुष, पर्सामा तीन जना, बारामा एक जना, सिरहामा एक जना, मकवानपुरमा एक जना र भक्तपुरमा एक जना गरी थप नौ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया