काभ्रे पलाञ्चोक । काभ्रेको धुलिखेल नगरपालिकामा बागमती प्रदेश सरकारले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला स्थापना गरेको छ ।
कोरोना महामारी बढिरहेका बेला कोरोनासँगै अन्य प्रकारका रोगहरुको पहिचान र परीक्षण गर्ने उद्देश्यले प्रादेशिक प्रयोगशाला धुलिखेलमा स्थापना गरिएको हो ।
बागमती प्रदेशका १३ जिल्लाका नागरिकहरुका लागि २४ सै घण्टा सेवा उपलब्ध गराउने गरी प्रादेशिक जनस्वास्थ्य ल्याब स्थापना गरिएको सामाजिक विकास मन्त्री युवराज दुलालले अन्य ल्याबहरुले परीक्षण र पहिचान गर्न नसकेका जटिल प्रकारका रोगहरु समेत यो प्रयोगशालामा परीक्षण हुने बताए । उनले कोरोनाको परिक्षणसँगै अन्य रोगहरुको पहिचान र परीक्षणले नागरिकहरुलाई थप सहज बनाउने बताए।
बागमती प्रदेश सरकारको राजधानी मकवानपुरको हेटौंडामा भए पनि काभ्रे तथा आसपासका जिल्लाहरुमा सेवा कार्यालयहरु स्थापना गर्ने सरकारको नीति अनुसार प्रादेशिक प्रयोगशाला धुलिखेलमा स्थापना गरिएको मन्त्री दुलालले बताए।
धुलिखेल नगरपालिकाले प्रयोगशाला व्यवस्थापनका लागि चार वर्षका लागि भवन उपलब्ध गराएको छ । चार वर्ष पछि नगरपालिकाले उपलब्ध गराएको जग्गामा प्रयोगशालाको भवन निर्माण हुनेछ ।
उक्त प्रयोगशालामा दैनीक एक हजार स्वाब परीक्षण गर्ने गरी प्रयोगशालामा जनशक्ति ब्यवस्थापन गरिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया