आज ऋषिपञ्चमी,सप्तऋषिको पूजाआराधना गरी मनाइंदै, कोरोनाका कारण नदी किनारमा स्नान गर्न प्रतिबन्ध ।

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धती सहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।

महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् । हरितालिका (तीज) को व्रत एवं पूजा आराधना महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहेपनि ऋषि पञ्चमी कर्म भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको छ ।

रजस्वलाका समयमा छाई छुई लगायत कुनै त्रुटी भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धती सहित सप्त ऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ । नारी रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी, र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ ।

यसैकारण आजको दिन दत्तिउन,गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछुतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको छ । यसरी स्नान गरेपछि अरुन्धती सहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । सप्त ऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो ।

ऋषिपञ्चमीका दिन काठमाडौँको टेकु, मूलपानी लगायत मुलुकभरका ऋषेश्वर मन्दिरमामा पूजा आराधनाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्ने गरेकामा यस वर्ष कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण कोही जान सक्ने अवस्था छैन ।

यसैबिच, ऋषिपञ्चमी पर्वमा महिलाले नदी, ताल, तलाउ, पोखरी जस्ता स्थानमा स्नान गर्ने गरेकामा यस वर्ष कोरोना भाइरसको महामारीका कारण घर घरमै स्नान गर्न महानगरीय प्रहरी वृत्त बौद्धले आह्वान गरेको छ ।

नदीमा समूह जम्मा भएर स्नान गर्दा कोरोनाको सङ्क्रमण फैलन सक्ने भएकाले यस्तो आह्वान गरिएको वृत्तले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया