कोरोना संक्रमणबाट भरतपुर अस्पतालमा उपचाररत हेटौंडाकी एक महिलाको मृत्यु

चितवन । कोरोना भाइरस सङ्क्रमणबाट हेटौंडाकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

भरतपुर–१० स्थित पुरानो मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–३ निवासी ६५ वर्षीया महिलाको शनिबार साँझ ७ः२६ बजे मृत्यु भएको हो ।

ती महिलाको मृत्यु भएसँगै शनिबार साँझ कोरोना रिपोर्ट पोजिटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । महिलाको पुरानो मेडिकल कलेजबाट भदौ १ गते नै स्वाब सङ्कलन गरी परीक्षणका लागि भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला पठाइएको थियो तर रिपोर्ट नआउँदै महिलाको साँझ मृत्यु भएको हो ।

कलेजोसम्बन्धी उपचारका लागि ती महिलालाई गत साउन ३२ गते पुरानो मेडिकल कलेजमा भर्ना गरिएको थियो । उनको शल्यक्रिया गर्नुअघि भदौ १ गते नै स्वाब सङ्कलन गरी परीक्षणका लागि प्रयोगशाला पठाइएको थियो ।

यसअघि हेटौंडा ४ का ५६ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार मृत्यु भएको थियो उनको मृत्युपश्चात कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया