चितवन घटनामा मानव गरिमाविरुद्ध घात भएको ठहर

काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले चितवन जिल्ला राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङमाथि राष्ट्रिय, अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गरी अमानवीय दमन भएको ठहर गरेको छ ।

चितवन घटनामा राष्ट्रिय, अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गरी मानवीय दमन भएको शान्ति समाजको ठहर

घटनास्थल पुगी स्थलगत रुपमा अध्ययनपछि तयार भएको प्रतिवेदन आईतबार सार्वजनिक गर्दै शान्ति समाजले चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सैनिकको कुटपिटपछि मृत्यु भएका चेपाङको परिवार, यातना पीडित र सरोकार भएकासँग भेटगरी अध्ययन अनुगमन गरेको जनाएको छ ।

गत साउन १ गते राप्ती नदीमा माछा मार्न गएका राजकुमारलाई सेनाले यातना दिएपछि भएको मृत्यु प्रकरणको शान्ति समाजको टोलीले साउन २४ गते घटनास्थल पुगेर अध्ययन अनुगमन शुरु गरेको थियो । उक्त घटनामा संलग्न सैनिक जवानलाई कानूनअनुसार कारबाही गर्न अध्ययन टोली संयोजक एवं शान्ति समाजका वरिष्ठ उपसभापति गोविन्द खनालले माग गरेका छन् ।

दोषीलाई कारबाही गरेको विवरण सार्वजनिक गरी नेपाली सेना यातना विरुद्धको अन्तर्राष्ट्रिय महासन्धिको कार्यान्वयन गर्न र मानव अधिकारको उच्च सम्मान एवं संरक्षण गर्न प्रतिवद्ध रहेको सबै सामु विश्वस्त पार्न पनि उनले अनुरोध गरे ।

अति सीमान्तकृत चेपाङ्ग समुदायमाथि भएको अत्याचारको सिलसिला तत्काल बन्द गर्नुपर्ने र विपन्न जातिको उत्थानको लागि राज्यले ठोस रुपमा योजना लागू गर्नपर्ने समाजको माग छ ।

चितवनको माडी नगरपालिका कुसुमखोलामा रहेका सकुम्वासीको घर आगजनी गरी बिचल्लीमा पारेको क्रुर घटनाप्रति शान्ति समाजले घोर निन्दा र भत्र्सना गर्दै उनीहरुको बसोवासको उचित प्रवन्ध मिलाउन जोडदार माग गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया