विश्वको तुलनामा नेपालमा कोरोनामुक्त हुने दर १० प्रतिशत कम

नेपाल कोरोना भाइरसको सङ्क्रमणबाट निको हुने दर क्रमशः घट्दै गएको छ ।

विश्वको तुलनामा नेपालमा सङ्क्रमणबाट निको हुने दर करिब १० प्रतिशतले कम रहेको छ । अहिले नेपालमा निको हुने दर ५८.३ प्रतिशत रहेको छ भने विश्वमा ६८.१ प्रतिशत रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा विश्वको तुलनामा नेपालमा सङ्क्रमणबाट निको हुने दर ९.८ प्रतिशतले कम रहेको छ । तथ्यांक भन्दाबढी नै निको भएको सरकारी अधिकारी बताउँछन् ।

मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले तथ्यांकअनुसार नेपालमा विश्वको तुलनामा सङ्क्रमण हुने दर कम भए पनि वास्तविक त्यसो नभएको बताए । उनले पछिल्लो समय रिपोर्टिङ गर्ने कम भइरहेकाले निको हुने दर तथ्यांकमा कम देखिएको बताए। उनले सवै ठाउँबाट तथ्यांक आइसकेपछि निको हुने दर बढी देखिने बताए।

विश्वमा अहिले दुई करोड ३६ लाख १५ हजारबढी सङ्क्रमित भएका छन् भने एक करोड ६१ लाख ४ हजार बढी निको भएर घर फर्किसकेका छन् । जुन निको हुनेको संख्या ६८.१ प्रतिशत हो । विश्वमा अहिलेसम्म आठ लाख १३ हजार बढीको कोभिड–१९ सङ्क्रमणबाट मृत्यु भइसकेको छ । जुन मृत्युदर ३.५ प्रतिशत हो ।

नेपालमा हालसम्म ३२ हजार बढी संक्रमण भएकामा १८ हजार ८ सयभन्दाबढी सङ्क्रमणमुक्त भइ घर फर्किसकेका छन् । जुन ५८.३ प्रतिशत हो । नेपालमा अहिलेसम्म १ सय ५७ जनाको सङ्क्रमणबाट मृत्यु भईसकेको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले सवै तथ्यांक सङ्कलन गर्न नसकेकाले निको हुने दरको सङ्ख्यामा कमि देखिएको बताए ।

उनका अनुसार करिव ८० देखि ९० प्रतिशत सङ्क्रमित निको भएर घर फर्किसकेका छन् । सरकारले गत चैत ११ गतेदेखि जारी गरेको लकडाउन साउन ७ गतेदेखि खुला गरेको थियो । पुनः सङ्क्रमित बढ्दै गएपछि अहिले अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

काठमाडौँ उपत्यकामा यही भदौ ४ गतदेखि १० गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । चैत ११ गतेदेखि स्कुल, कलेज, सार्वजनिक यातायात, सभा, गोष्ठी, जात्राजस्ता बढी भिडभाड हुने कार्य गर्न रोक लगाइएको छ । नेपालमा एक महिनाको बीचमा निको हुने दर पनि ११.२ प्रतिशतले कमि आएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया