काभ्रेमा कोरोना सङ्क्रमितको सङ्ख्या १६२ पुग्यो,भुम्लु गाउँपालिकाबाट हुने सेवाप्रवाह बन्द

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लामा कोरोना भाईरस सङ्क्रमितको सङ्ख्या १ सय ६२ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म ६३ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् भने ९७ जना विभिन्न अस्पताल तथा होम आइसोलेसनमा उपचाररत रहेको जिल्ला कमाण्ड पोष्टले जनाएको छ ।

यस्तै, मङ्गलबार एकै दिन विभिन्न स्थानमा गरी थप १७ जनामा सङ्क्रमण पुष्टि भएका थिए । धुलिखेल अस्पताल, बनेपा, पनौती नगरपालिका र भुम्लु गाउँपालिकामा गरी १७ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा नरेन्द्रकुमार झाले जानकारी दिए ।

सङ्क्रमित हुनेमा मण्डनदेउपुर नगरपालिका घर भई भुम्लु गाउँपालिकामा कार्यरत वर्ष ३३ का स्वाथ्यकर्मी महिला र मण्डनदेउपुर नगरपालिकाकै वर्ष ४९ का एक महिला, धुलिखेल अस्पतालमा कार्यरत वर्ष २५ र ३७ का दुई महिला र वर्ष २६ का एक पुरुष गरी तीन, पनौती नगरपालिकाका वर्ष ३९ र ४० का दुई महिला, वर्ष २०, ३२, ४० र ५५ का पुरुष गरी छ, बनेपा नगरपालिकाका वर्ष चारका एक बालकसहित ५९ वर्षको पुरुष र वर्ष नौ, २८, ३२ र ६० का महिला गरी छ रहेको डा झाले बताए ।

यसअघि शनिबार स्पाइनल इञ्जुरी अस्पताल बनेपा भैँसेपाटीमा कार्यरत कर्मचारी र उपचाररत बिरामी गरी २३ र धुलिखेल अस्पतालमा कार्यरत १२ कर्मचारीमा गरी ३५ जनामा एकै दिन कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

त्यस्तै, कोशीपारिस्थित भुम्लु गाउँपालिका–८ मा कार्यरत एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि पूरै वडा क्षेत्र सिल गर्नुका साथै गाउँपालिकाबाट हुने सेवाप्रवाहसमेत अनिश्चितकालका लागि बन्द गरिएको छ ।

पालिकाभित्रमा थप सङ्क्रमण फैलिन नदिन भुम्लु गाउँपालिकाले मङ्गलबारबाट अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत मदनकुमार बजगाँईले बताए।

उनका अनुसार पालिकाको वडा नं ६, ८ र १० का बासिन्दा र गाउँपालिकाका कर्मचारीमा समेत कोरोना सङ्क्रमण देखिएकाले बाँकी समुदायमा समेत सङ्क्रमण फैलन सक्ने सम्भावना रहेकाले मङ्गलबारबाट अनिश्चितकालका लागि कार्यालयबाट प्रवाह हुने सेवा बन्द गरेको हो।

फेसबुकबाट तपाइको प्रतिक्रिया