बिना थिङको सिमान्त कथा संग्रह ‘याम्बुनेर’

फाटो :बिना थिङको फेसबुकबाट

एक दशकदेखि कथा र कविता लेखनमा सक्रिय साहित्यकार बिना थिङको नयाँ कथा संग्रह ‘याम्बुनेर’ बुधबार सार्वजनिक गरिएको छ ।

फिनिक्स बुक्सले प्रकाशन गरेको ‘याम्बुनेर’ कथा संग्रहमा याम्बुको किनारमा वर्षौंदेखि राज्यबाट किनारीकृत भएर बसेको समुदायको भोगाई, समयक्रमसँगै समुदायमा आएको परिवर्तन, जीवन बोधका विभिन्न आयाम समेटिएको छ।

१३ वटा कथा समेटिएको संग्रहमा राज्यसत्ताबाट जात, धर्म, भाषा, संस्कृति, वर्ग, क्षेत्र वा खास नश्लको आधारमा गरिँदै आएको विभेद र त्यसबाट पहिचानविहीन बन्न पुगेका किनारीकृतहरुको संघर्षका कथालाई प्रस्तुत गरिएको छ ।

विशेषतः पहाडी तामाङ समुदायको कथालाई प्राथमिकता दिइएको कथा सङ्ग्रहमा तराईका सीमान्तकृत वर्गको कथा समेत समावेश गरिएको उहाँको भनाइ छ ।

यसअघि थिङले २०६९ सालमा ‘छुकी’ कथा संग्रह र २०७२ सालमा ‘रातो घर’ कविता संग्रह प्रकाशित गरिसक्नुभएको छ । उहाँ यस बाहेक विभिन्न पत्रपत्रिकामा बाल सिकाई र शिक्षा सम्बन्धमा अखबार लेखन पनि गर्नुहुन्छ ।

साहित्यकार थिङले नेपाली साहित्य प्रेमी जन समुदायका माझमा नयाँ कथा सङ्ग्रहको बाहिरी आवरण ल्याउन पाउँदा आफू खुसी रहेको बताउनुभयो ।

कथा सङ्ग्रह २०७७ सालको शुरुवातमै सार्वजनिक गर्ने योजना भए पनि कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनका कारण प्रकाशनमा ढिलो भएको प्रकाशन संस्था फिनिक्स बुक्सले जनाएको छ।

यसैगरी, उहाँ २०७५ सालको बाह्रखरी कथा प्रतियोगिताकी विजेता पनि हुनुहुन्छ । फिनिक्स बुक्सद्धारा प्रकाशित कथा संग्रह ‘याम्बुनेर’ हाललाई बुकहिल अनलाइन मार्फत बजारमा ल्याईएको छ ।
फाटो :बिना थिङको फेसबुकबाट

फेसबुकबाट तपाइको प्रतिक्रिया