काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरु भएको छ ।
आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृ पक्ष एवं सोह्रश्राद्धसमेत भन्ने गरिएको हो । पितृ पक्षको पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरिन्छ ।
आज प्रतिपदा तिथिको श्राद्ध दिउँसो १ः१७ बजेदेखि ३ः४९ सम्ममा पिण्डदान गर्ने गरी निर्धारण गरिएको छ । यो समयभित्रमै पिण्डदान गर्नुपर्नेछ । तर्पण, दियो पूजा, विश्वेदेवा ब्राह्मणलगायत पूजा तोकिएको समयअघि नै गर्न सकिनेछ । यो समयमा पिण्डदान नगरे पितृले पाउँदैनन् भन्ने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद्हरु बताउँछन् ।
चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परा अनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।
यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ठूला माङ्गलिक कार्य गर्नु अगाडि नान्दीमुखी श्राद्ध, पितृको मृत तिथिमा गर्ने एकोद्दिष्ट श्राद्ध, सोह्र श्राद्धमा गर्ने पार्वण श्राद्ध, सोह्र श्राद्धमा मृत्यु भएकाको सम्झनामा गरिने एक पार्वण श्राद्ध, तीर्थमा गरिने तीर्थ श्राद्ध र बद्रीको ब्रह्मकपाल तीर्थमा गरिने ब्रह्म कपाली जस्ता श्राद्धहरु प्रचलित रहेका छन् ।
यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण सोह्र श्राद्ध गराउने ब्राह्मण यजमानकहाँ जान कठिन छ । विशेषगरी काठमाडौँ उपत्यकालगायत ठूला शहरमा यो समस्या छ । आवतजावत गर्दा कोरोना फैलन सक्ने चिन्ता छ । केही स्थानीय तहले श्राद्ध विद्युतीय रुपमा गर्न, घरमा पुरोहित नबोलाउन भनी सार्वजनिकरुपमा सूचनासमेत जारी गरेका छन् ।
यस वर्ष असोज महिनाभर अधिकमास भएकाले आश्विन शुक्लपञ्चमी कात्तिक ५ गते बुधबार पर्छ । भदौको पितृपक्षअर्थात् सोह्र श्राद्धमा कोरोनाकै कारण श्राद्ध गर्न नसक्नेले कात्तिक १ देखि ५ गतेसम्म पनि गर्न शास्त्रसम्मत् हुनेछ ।
पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दशैँ शुरु हुने गरेपनि यस वर्ष अधिकमासका कारण एक महिना ढिलामात्र नेपालीको महान चाड शुरु हुनेछ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया