काठमाडौं । अर्थ एवं सूचना प्रविधि तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएका छन् । खतिवडाले शुक्रबार साँझ प्रधानमन्त्री केपी ओलीलाई राजीनामा बुझाएका हुन् । राष्ट्रियसभाको रिक्त एक पदमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने निर्णयमा सरकार पुगेको प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकमा जानकारी गराएका थिए । तत्कालका लागि सांसद बन्ने बाटो बन्दै भएसँगै उनको मन्त्री पदसमेत शनिबारबाट स्वतः सकिदै थियो ।
प्रधानमन्त्री केपी ओलीले अहिलेसम्म सरकारमा बसेर काम गरेकोप्रति अर्थमन्त्री खतिवडालाई धन्यवाद दिएका छन् । राष्ट्रिय सभा सदस्यका लागि उनको कार्यकाल पूरा भएपछि पनि ६ महिना उनी मन्त्री भएका थिए ।
खतिवडा पहिलोपटक २०७४ साल चैत २ गते अर्थमन्त्री नियुक्त भएका थिए । राष्ट्रिय सभामा गोलाप्रथाबाट दुई वर्षे कार्यकाल निश्चित गरेका उनको पदावधि सकिएकै दिन २०७६ साल फागुन २० गते राजीनामा दिएपछि त्यसको भोलिपल्ट पुनः उनी दोस्रो कार्यकालका लागि अर्थमन्त्री नियुक्त भएका थिए ।
संविधान बमोजिम संघीय सांसद नभएको व्यक्ति ६ महिनामात्रै मन्त्री हुन पाउँछ । त्यसपछि संघीय संसदको सदस्य नियुक्त हुन नसकेको अवस्थामा स्वतः पदमुक्त हुने व्यवस्था छ । लामो रस्साकस्सीपछि पार्टीले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा पठाउने भएपछि तत्कालका लागि डा. खतिवडाको यात्रा रोकिएको हो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया