महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले मानव बेचबिखन तथा ओसारपसार मुक्त समाज निर्माणमा योगदान पु¥याउन सबैलाई अपिल गर्नुभएको छ ।
‘मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १४ औँ राष्ट्रिय दिवस’ को अवसर मन्त्रालयद्धारा आज आयोजित ‘भर्चुअल’ बैठकमा मन्त्री गुरुङले मानव बेचबिखन तथा ओसारपसार जस्तो जघन्य अपराधका घटना बढदै गएकामा चिन्ता व्यक्त गर्दै त्यसको अन्त्य गर्ने सरकारको अभियानमा साथ दिन सबै राजनीतिक दललाई पनि आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “राजनीतिक दल, सबै तहका जनप्रतिनिधिले मानव बेचबिखन हुन नदिन आ–आफ्नो ठाउँबाट अझै सक्रियताका साग योगदान दिनुपर्ने छ, मानव बेचबिखनलगायतका जघन्यअपराधका घटना हुन नदिने अभियानमा संलग्न सामाजिक अभियन्तालाई ‘राष्ट्रिय परिचयपत्र’ बनाएर सम्मान गर्ने सरकारको योजना छ ।”
उहाँले समाज रुपान्तरणको अभियानमा लाग्ने, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा उल्लेख्य योगदान पु¥याउनेलाई राज्यले सम्मान गर्नका लागि आवश्यक नीतिगत निर्णय तत्काल गर्ने पनि बताउनुभयो । मन्त्री गुरुङले सभ्य, सुसंस्कृत समाज निर्माणका लागि पनि मानव बेचबिखन तथा ओसारपसार जस्ता घटना हुन नदिन सरकारले प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले उत्पादन र उद्यमशीलताको माध्यमबाट आर्थिकरुपमा सबल बनाइ मानव बेचबिखन अन्त्य गर्ने गरी सरकारले सबै स्थानीय तहमा आवश्यक कार्यक्रम अघि बढाउने पनि बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसकी नेत्री पुष्पा भुसालले गरिबी र अशिक्षाका कारण मानव बेचबिखन चुनौतीका रुपमा देखापरेको बताउँदै ती समस्या समाधानका लागि आवश्यक सबै खालको व्यवस्था गरेर अघि बढन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद शेरबहादुर तामाङले मानव बेचबिखन जस्ता आपराधिक घटना हुन नदिन ठोस योजनाका साथ अघि बढ्न सरकारलाई सुझाव दिनुभयो । मन्त्रालयका सचिव यामकुमारी खतिवडाले रोजगारीका अवसर सिर्जना गर्दै मानव बेचबिखन तथा ओसारपसार जस्ता आपराधिक घटना हुन नदिन मन्त्रालय लागिपरेको बताउनुभयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया