मन्थली । रामेछापमा प्रहरी हिरासतमा रहेका लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्कासहित ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले आज जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासत र थुनामा रहेका दुई जना, तीन जना प्रहरी र मन्थली नगरपालिकाका एक महिला गरी ६ जनामा कोरोना पुष्टि भएको जानकारी दिए । रामेछापमा कोरोना पोजिटिभ हुनेको संख्या ४९ पुगेको थापाको भनाइ छ ।
साउन ३० गते मन्थलीबाट शरीर बन्धक कसुरमा पक्राउ गरेपछि गाउँपालिकाका अध्यक्ष खड्का २६ दिनदेखि प्रहरी हिरासतमा रहेका थिए । उनी पक्राउ परे लगत्तै थप ठगी र बलात्कारका दुई वटा मुद्दा दर्ता भएका छन् । प्रहरीले उनीमाथिको अनुसन्धान जारी राखेको छ ।
खड्कालाई अदालतमा उपस्थित गराउनु अगाडि अनिवार्य पीसीआर परीक्षण गर्नुपर्ने मापदण्डअनुसार स्वाब संकलन गरी पठाउँदा रिपोर्ट पोजिटिभ देखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया