कैलाश खत्री,मन्थली । रामेछापको मन्थली नगरपालिकाको गेलुमा इन्टरनेट पहुँच पुगेको छ । मन्थली नगरपालिका वडा नम्बर १२ वडा कार्यालयले आफ्नो बजेटबाट इन्टरनेट जडान गरे पछि गाउँबासीहरुले इन्टरनेट सेवा लिन पाएका छन् । समुदाय स्तरमा फ्रि -वाइफाइ सेवा शुभारम्भ नाम दिएर वडा कार्यालयले गेलुको पशुपति डाँडामा इन्टरनेटको टावर स्थापना गरेको छ भने गाउँकै सिक्राल डाँडामा सम्पर्क टावर समेत राखेकोे छ । गाउँमा इन्टरनेटको पहुँच पुगे पछि स्थानीयहरुले सञ्चार माध्यमको पहुँचमा व्यापकता आएको बताएका छन् ।
सामाचार, पत्रपत्रिका, सामाजिक सञ्जाल तथा सूचनाको पहुँचमा पुगेको स्थानीयहरुले महुशुस गरेका छन् । साथै, इन्टरनेट बाटै बैंक तथा वित्तीय संस्थाहरुमा कारोबार गर्न समेत सहज भएको छ । चर्को शुल्क तिरेर मोबाइल डाटा सेवा लिनुपर्ने बाध्यता हटेको छ । वडा अध्यक्ष कृष्णहरी अधिकारीले आगामी दिनमा इन्टरनेट सेवालाई थप विस्तार गर्ने लक्ष्यका साथ वडा कार्यालयले काम गरिरहेको जानकारी दिनुभयो । उहाँले टावर नपुगेका ठाउँमा टावर थप्ने, अत्याधुनिक प्रविधि भित्र्याएर सबै नागरिकलाई ईन्टरनेटको सुविधा दिन काम गरिरहेको उल्लेख गर्नुभयो ।
उहाँले इन्टरनेटमा निजी क्षेत्रलाई समेत लगानी गर्ने वातावरण बनाउने बताउनुभयो । यो इन्टरनेट सेवा वडा कार्यालयको १ लाख ५० हजार रुपैयाँको बजेट खर्च गरी राखिएको उहाँको भनाई छ । निःशुल्क इन्टरनेट सेवा पाएसँगै बन्दाबन्दीको कारण विद्यालय जान नसकेका विद्यार्थीहरुले घरमै बसेर अनलाइन कक्षा लिइरहेको पशुपति आधार विद्यालयका प्रधानाध्यापक ताराराम खड्काले जानकारी दिनुभयो । उहाँले विद्यालयमा आएर शिक्षकहरुले कम्युटर कक्षाबाट अनलाइन कक्षा सञ्चालन गरेको र विद्यार्थीले घरबाटै विषयगत पाठहरु पढेर उत्तर दिने हुँदा कोरोना संकटका बेला पनि विद्यार्थीहरुले सहज रुपमा पठनपाठन गरिरहेको बताउनुभयो ।
त्यस इन्टरनेट सेवा विस्तार कार्यक्रमको मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार वस्नेतले साउन २७ गते श्रीकृष्ण जन्माष्टमीको पावन अवसर पारेर सेवा सुरु भएको घोषणा गर्नुभएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख वस्नेतले इन्टरनेट सेवाको विस्तारमा नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । सूचना, सञ्चार, विज्ञान र प्रविधिको क्षेत्रमा नगरपालिकाले लगानी गर्ने उल्लेख गर्नुभएको थियो । मन्थली नगरपालिका वडा नम्बर १२ का अध्यक्ष कृष्णहरी अधिकारीको अध्यक्षतामा भएको त्यस कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिलाराज पाैडेल,नेपाल कम्युनिष्ट पार्टी नेकपा उमाकुण्ड गाउँपालिका कमिटीका अध्यक्ष चित्रबहादुर कार्की, मन्थली नगरपालिका न्यायिक समितिका सदस्य नारायण बहादुर बोगटी, नेकपा रामेछाप जिल्ला कमिटी सदस्य प्रकाश कुमार कार्की र पशुपति तथा रामजानकी विकास समितिका अध्यक्ष सम्भु अधिकारी लगायतले आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा मन्थली नगरपालिका वडा नम्बर ७का अध्यक्ष सुदर्शन प्रसाइ वडा नम्बर १२ का सचिव राकेश रायमाझी, वडा सदस्यहरु, उमेश कार्की(मुकुन्द ),रिता सार्की, पूर्व गाविस उपाध्यक्ष अर्जुनकुमार केसी, शारदा माध्यमिक विद्यालय गेलुका सहायक प्रधानाध्यापक रविन्द्र विक्रम खत्री,अनेरास्ववियू रामेछापका संयोजक सागरहरी अधिकारी, संयुक्त युवा अभियान गेलुका संयोजक राजेश खत्री लगायतको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया