सिन्धुपाल्चोक । गत साउन ३० गते सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ स्थित लिदी गाउँमा गएको पहिरो पीडितलाई हाल सम्मकै धेरै सहयोग पाउने भएको छ ।
विदेश स्थित तामाङ संघ÷संस्थाका प्रतिनिधिहरुले आज नेपाल तामाङ घेदुङको सङ्घीय सभाहल चुच्चेपाटी, बौद्धमा एक कार्यक्रमको आयोजना गरी विदेशमा संकलित एकमुष्ट रकम रु २२,१२,४९५ पीडित परिवार समक्ष पु¥याई वितरण गर्न नेपाल तामाङ घेदुङ विपद ब्यवस्थापन प्रमूख रामकृष्ण ब्लोन तामाङलाई हस्तान्तरण गरेका छन् । यो रकम अन्य संस्थाले वितरण गरेकोमध्ये आजसम्मकै सबैभन्दा ठूलो रकम हो ।
सहयोग रकम उपलब्ध गराउनेहरुमा तामाङ समाज बेल्जियम रु ४,००,०००, तामाङ समाज जापान रु ३,७०,०००, तामाङ संघ दक्षिण कोरिया र तामाङ समाज ख्यङसान बुसान रु ३,३२,०००, तामाङ घेदुङ हङकङ रु ३,०८,०००, तामाङ घेदुङ यु.के. रु. २,०१,०००, नेपाल तामाङ घेदुङ बहराईन रु १,५२,०००, नेपाल तामाङ घेदुङ कतार रु १,२०,३८४, नेपाल तामाङ घेदुङ साइप्रस रु १,१५,०००, मकाउ तामाङ घेदुङ एसोसियसन रु १,१०,००० र नेपाल तामाङ घेदुङ मलेसिया रु १,०४,००० रहेका छन् ।
पहिरो गए लगत्तै गाँस र बासको समस्याले पीडित परिवार छटपटाइरहेको बेला साउन ३२ गते नै नेपाल तामाङ घेदुङ इजरायलले सङ्घीय कार्यालयसँग समन्वय गरी १,२६,००० रकम सहयोग उपलब्ध गराएको थियो । उक्त रकम घेदुङको जिल्ला अध्यक्ष रेशम स्याङ्बोले स्थानीय जनप्रतिनिधिको उपस्थितिमा सोही दिन हस्तान्तरण गरिसकेका छन् । सहयोग रकम उपलब्ध गराउने संस्थाका अध्यक्षहरुले घेदुङलाई एक सन्देश पठाउँदै मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्नुका साथै पीडित परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस् भनी कामना गरेको छ ।

घेदुङमार्फत सहयोग हस्तान्तरण गर्ने कार्यक्रममा तामाङ समाज जापानबाट पूर्व उपाध्यक्ष पुजन लामा, तामाङ समाज जापान कित्ताकान्तोका पूर्व सदस्य रविन तामाङ, तामाङ संघ दक्षिण कोरियाबाट तामाङ समाज ख्यङसाङ बुसानका नि.अध्यक्ष विश्वास ब्लोन तामाङ, अन्तर्राष्ट्रिय तामाङ परिषद्का उपाध्यक्ष अस्मिता वाईबा, घेदुङका सङ्घीय सदस्य तथा साइप्रस घेदुङको समेत प्रतिनिधित्व गर्नुहुने सरोजमोहन तामाङ, पूर्व सांसद दावा तामाङ लगायत घेदुङको पदाधिकारी र सचिवालय सदस्यहरुको उपस्थिति रहेको थियो ।
घेदुङले पहिरो पीडितहरु हाल बसोबास गरिरहेको स्थान सिन्धुपाल्चोक, बासखर्कमा पुगेर भदौ २६ गते स्थानीय जनप्रतिनिधिको रोहवरमा उक्त रकम हस्तान्तरण गर्न लागेको घेदुङका सङ्घीय अध्यक्ष मोहन गोले तामाङले बताए ।
पहिरोमा परी लिदी गाउँका ३९ जना बेपत्ता भएकोमा ३३ जनाको शब फेला पारी सद्गत गरिएको र बाँकी ६ जनाको शब फेला नपरेको घेदुङका जिल्ला अध्यक्ष रेशम स्याङ्बोले बताए । उहाँका अनुसार पहिरोबाट २८ घर पूर्ण रुपमा क्षतिग्रस्त समेत १५६ तामाङ परिवार विस्थापित भएका छन् ।
यसैगरी नेपाल तामाङ घेदुङका सल्लाहकार तथा सिन्धुपाल्चोक जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने पूर्व संविधानसभा सदस्य दावा तामाङले सहयोगी सबै तामाङ संस्थाहरुलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ । उहाँले पीडित परिवारलाई पुनस्र्थापित गर्न आफ्नो तर्फबाट सरकार र अन्य संघ/संस्थाहरुलाई पनि आग्रह गरिरहेको बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया