विषम स्थितिमा बालबालिकाको भविष्य सुनिश्चित गर्न राष्ट्रपति भण्डारीको आग्रह

काटमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना महामारीको विषम परिस्थितिमा बालबालिकाको भविष्य सुनिश्चित गर्न तीनै तहका सरकारी निकाय, राष्ट्रिय तथा अन्तरारष्ट्रिय गैरसरकारी संस्था, नागरिक समाज र अभिभावक संवेदनशील हुनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय बाल दिवस २०७७ का अवसरमा आज सन्देश दिँदै राष्ट्रपति भण्डारीले बालअधिकार सुनिश्चित गर्न राष्ट्रिय कानून तथा विभिन्न अन्तरराष्ट्रिय सन्धि, सम्झौता तथा प्रतिबद्धतामा रहेका प्रावधानको प्रभावकारी कार्यान्वयन गर्नु राज्यको अहम् दायित्व भएको जनाउनुभएको छ ।

महामारीका समयमा वैकल्पिक माध्यमबाट पठनपाठन भइरहेकामा प्रशंसा गर्दै राष्ट्रपति भण्डारीले राष्ट्रको भविष्यका जिम्मेवार नागरिक आजका बालबालिकाको संरक्षण र विकासमा दत्तचित्त भई ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा राष्ट्रिय आकाङ्क्षा साकार पार्न सम्बद्ध सबैको प्रतिबद्धताको अपेक्षा पनि व्यक्त गर्नुभएको छ ।

यसैबिच, प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले बालबालिकाको हक र हितको संरक्षणलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । उहाँले नेपालको संविधानमा मौलिक हकका रुपमा रहेको बालबालिकाकासम्बन्धी नीति तथा कानून तर्जुमा गरी कार्यान्वयन गर्दै आएको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले बालबालिकाको शारीरिक र मानसिक विकासका लागि सन्तुलित आहार, स्वच्छ उपयुक्त आवास, उपयुक्त प्रविधि प्रयोगसहितको स्तरीय शिक्षा, देशभक्ति, मानवता, सामाजिकता, उद्यमशीलता र रचनात्मकताको भावधारा जगाउने गुणवत्त शिक्षादीक्षाको अधिकार सुनिश्चित गर्ने सरकारको नीति रहेको प्रष्ट पार्नुभएको छ ।

प्रधानमन्त्रीले सिर्जनाका आधारभूमि बालबालिकामा सकारात्मक, सबल र जीवनमुखी रङ भर्न अभिभावक, परिवार र समाजलाई आफ्नो नैतिक आचरणमार्फत सकारात्मक ज्ञान सम्प्रषेण गर्न आह्वान गर्नुभएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया