काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा। जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार ४ सय ५९ जनामा संक्रमण पुष्टि भएको बताए । उपत्यकामा पछिल्लो २४ घण्टामा ६७६ जना कोरोना भाइरस संक्रमित भएका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा ५५५, भक्तपुरमा ८६ र ललितपुरमा ३५ जनामा संक्रमण पुष्टि भएको हो । यो संगैं संक्रमितको संख्या ५६ हजार सात सय ८८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १० हजार ३ सय ७५ जनाको नमुना परीक्षण गरिएको छ । ७ हजार २ सय ५० जना क्वारेन्टाइनमा रहेका छन् भने १५ हजार ७७९ जना आइसोलेसनमा सक्रिय संक्रमित रहेका छन् ।
मंगलबार थप १ हजार ६२ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ४० हजार ६ सय ३८ पुगेको छ । हाल आइसियूमा १७४ छन् भने भेन्टिलेटरमा २८ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
यसैबीच, कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा चार महिला र सात पुरुष गरी थप ११ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ३७१ पुगेको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया