कोरोनाले समाजमा पारेको प्रभावको अध्ययन गर्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । संसदको महिला तथा सामाजिक समितिले कोरोना महामारीले समाजमा पारेको प्रभावको अध्ययन गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार बसेको समितिको बैठकले कोरोना महामारीको असरको अध्ययन गर्दै सम्मुन्नत सामाजिक बहावमा गुणात्मक अभिबृद्धिको कार्यसम्पादन गर्न मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र महिला बालबालिका मन्त्रालयलाई निर्देशन दिएको हो ।

त्यस्तै महामारी सम्बोधनका लागि पुराना कानून भएपनि अहिलेको अवस्थामा नयाँ कानूनी र नीतिगत व्यवस्था गर्न र गराउन साथै उल्लेखित बिषयहरुमा लैंगिक पाटोलाई समेत बिषेश ध्यान दिन बैठकले सरकारलाई निर्देशन दिएको छ ।

महामारीको प्रभाव सवैभन्दा बढी अस्थायी खालका काममा संलग्न श्रमिक तथा बिपन्न बर्गमा परेकोे र महामारीका कारण यस्ता वर्गको दैनिक जिवनयापन कठिन भएको भन्दै तत्काल कोरोनाले प्रभाव पारेको समूदायको तथ्याङ्क स्थानीय तहले अभिलेखिकरण गरि आवश्यकता अनुसार सहयोग गर्नुपर्ने देखिएकाले अभिलेखिकरण र आवश्यक सहयोग गर्न पनि सरकारलाई निर्देशन दिइएको समिति सभापति निरुदेवी पालले जानकारी दिइन् ।

बैठकले पिसिआर परिक्षणका लागी हालै शुक्रराज अस्पतालमा भीड देखिएको भन्दै महिला बालबालिका जेष्ठ नागरिक र फरक रुपले सवल अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकतामा राख्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिइएको उनले बताइन् । बैठकमा सांसदहरुले कोरोनाबाट प्रभावित समूलायलाई स्थानीय तहबाट सहयोग हुनुपर्ने बताए ।

कोरोनाका कारण घरमै बस्नुपर्दा बालबालिकाहरुलाई मानसिक , शारिरीक असर पर्ने देखिएकाले यस बिषयमा राज्यले उचित ढंगले सम्बोधन गर्नुपर्ने उनीहरुको भनाई छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया