किन खाली बन्यो उपसभाभुखको खुर्सी ?

मातृ सन्देश ब्यूरो,काठमाडौं । पछिल्लो आठ महिनादेखि प्रतिनिधिसभाको उपसभामुख पद रिक्त छ । नेकपाको दवावमा तत्कालिन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि सो पद रित्त बनेको हो । उसोतः तत्कालिन सभामुख कृष्ण बहादुर महराले पदबाट राजिनामा दिएपछि सोही पदका लागि तत्कालिन उपसभामुख तुम्बाहाम्फेले पनि निकै अडान थापेकी थिइन् । तर दुई तिहाईको सरकार भएकाले प्रतिपक्षीलाई सभामुख जस्तो गरिमामय पद दिने पक्षमा नेकपा थिएन । त्यसैले सोही पदका लागि नेकपाले भित्री कसरत गरिरहेको थियो । नेकपामा पनि तत्कालिन माओवादी खेमा वा तत्कालिन एमाले खेमा कुनले पाउन भन्ने विषयमा निकै समय दौडधुप चल्यो । सोही समयमा तुम्बाहाङ्फेले पनि सभामुखको पद आफूले पाउनेपर्ने अडान थापेकी थिइन् ।

अन्ततः पार्टीको निर्णय बमोजिम उनलाई माघ ६ गते राजीनामा दिन लगाइयो र उनको हातमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय थमाइयो । उनी त्यसैमा पनि राजी पनि भईन् । यता सभामुखका लागि पनि तत्कालिन माओवादी खेमाबाट अग्नी प्रसाद साप्कोटालाई उम्मेदवार बनाइयो र जिताइयो पनि । सापकोटा माघ १२ मा सभामुखमा निर्वाचित भएका थिए ।

त्यसपछि सामान्य बन्दै गएको परिस्थिति अहिले ८ महिना वितिसक्दा पनि कोही कसैले उपसभामुख पदका लागि चासो दिएको पाइँदैन । देश अझै उपसभामुख विहीन बनेको छ ।

नेपालको संविधानमा सभामुख वा उपसभामुख फरक फरक राजनीतिक दलका हुनुपर्ने व्यवस्था छ । संविधानको धारा ९१ उपधारा २ को १ को प्रावधान अनुसार सभामुख र उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने छ ।

त्यो पनि फरक फरक पार्टीका तर्फबाट । त्यसैले नेकपाले तुम्बाहाम्फेलाई हटाएर समाभुख आफूले लिएको थियो । अब नियम अनुसारले अब उपसभामुख पदका लागि पनि प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा अन्य कसैलाई बनाउनु पर्ने हो । तर त्यसमा उनले खासै चासो देखाएको पाइँदैन । संसदको जारी अधिवेशनको नै अन्त्य भएकोले बुद्धिजीविहरू र कानून व्यवसायीहरुले पनि यसबारे आवाज उठाएको पाइएन ।

यता प्रमुख प्रतिपक्ष दलहरु पनि केही समय सभामुख पदकै लागि उफ्रिए भने त्यसपछि उपसभामुख भएपनि हुन्छ जस्तो गरेका थिए । अहिले उनीहरु पनि मौन छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायत अन्य साना दलहरुका लागि पनि उपसभामुख पद प्राप्त गर्नका लागि नेकपाकै साथ र सहयोग आवश्यक हुन्छ । त्यसैले प्रतिपक्ष दलहरुले त्यो दावीलाई विस्तारै छोड्दै गए । अन्ततः उपसभामुख पद अहिलेसम्म नै रिक्त बनेको छ । उपसभामुखजस्तो महत्वपूर्ण र गरिमामय पदमा नेतृत्व चयनका लागि यसरी ढिला सुस्ती हुनु भनेको राजनीतिक निकृष्टताको परिणाम बुझ्न सकिन्छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया