बलात्कारका घटनामा मेलमिलाप गराउनेलाई कारबाही गर्न गृहमन्त्री थापाको निर्देशन

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बलात्कारका घटनामा मेलमिलाप गराउनेलाई कारबाही गर्न निर्देशन दिइसकेको बताएका छन् ।

पञ्चायती बस्ने र बलात्कारको घटनामा मेलमिलाप गराउनेलाई मतियारको रुपमा पक्राउ गरी कारवाही गर्न मातहतका निकायलाई निर्देशन दिइसकेको उनले बताए ।
बलात्कारका घटनामा संलग्नलाई कारवाहीको माग गर्दै सोमबार गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाउन आएको अखिल नेपाल महिला संघ (अनेमसंघ) का प्रतिनिधिमण्डल र बझाङ जिल्लाका जनप्रतिनिधिसँगको संयुक्त भेटमा गृहमन्त्री थापा बलात्कारजस्तो जघन्य अपराधमा मिलापत्र गराउनु ठूलो अपराध भएको टिप्पणी गरे ।उनले यस्तो मिलापत्र गराउनेलाई कारवाहीको सुनिश्चितता विद्यमान कानुनले गरेको बताउँदै आवश्यक परे थप कडा कारवाहीको प्रावधान राख्न कानुन संसोधन गरिने बताए ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले पछिल्ला दिनमा भएका बलत्कारका घटनामा संलग्न अधिकांश आरोपीहरु प्रहरीले पकाउ गरिसकेको भन्दै मिलापत्र गराउने कार्यमा संलग्नमाथि पनि कारवाही अघि बढेको जानकारी दिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया