उर्जा मन्त्रालयले लकडाउनको अवधिमा रिडिङ नभएका मिटरधनिसँग जरिवाना नलिन बिद्युत प्राधिकरणलाई निर्देशन दिएको छ ।
मन्त्री पुनले मंगलबार प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला र उपकार्यकारी निर्देशक एवं ग्राहक तथा वितरण निर्देशनालयका प्रमुख हरराज न्यौपानेलाई मन्त्रालयमा बोलाएर त्यस्ता ग्राहकलाई तत्काल जरिवाना नलाग्ने व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो ।
उहाँले यसअघि जरिवाना लिइएको भए सो रकम ग्राहकले आगामी महिना बुझाउने शुल्कमा मिलान गर्न पनि निर्देशन दिनुभएको उहाँको सचिवालयले जानकारी दिएको छ । उक्त अवधिको तत्काल मिटर रिडिङ गराउन र कर्मचारी गएर रिडिङ गर्न नसेकेको अवस्थामा ग्राहक आफैँलाई मिटरको नम्बर टिपाएर शुल्क लिन पनि उहाँले आग्रह गर्नुभयो ।
लकडाउन यता ९० लाख विद्यार्थी घरमै बसेर अनलाइन कक्षा लिइरहेको भन्दै मन्त्री पुनले विद्युत् नियमित नभए उनीहरुको पढाइ प्रभावित हुने स्पष्ट गर्नुभयो । प्राधिकरणको मूल नेतृत्व नभएको समयमा वितरण प्रणालीमा कुनै कमजोरी आउन नदिन मन्त्री पुनले निर्देशन दिनुभयो । यसैगरी मन्त्री पुनले लकडाउन अवधिमा सरकारले ग्राहस्थ र औद्योगिक ग्राहकलाई दिने भनेको छुट तत्काल कार्यान्वयन गर्न पनि निर्देशन दिनुभएको छ ।यसैबीच, प्राधिकरणले मन्त्री पुनको निर्देशन तत्काल कार्यान्वयनमा ल्याउने प्रतिबद्दता जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया