८२औँ नियमित साहित्यिक श्रृंखला अन्तर्गत ‘साकुराको फेदमुनी’ साहित्यिक कार्यक्रम सम्पन्न

जापान । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरको आयोजनामा नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर ‘साकुराको फेदमुनी’ साहित्यिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम चिबा केनको इचिगावा स्टेशन नजिक रहेको साकुरा चचुमी पार्कमा आयोजना गरिएको थियो।

कार्यक्रममा सभाध्यक्ष अनेसास जापानका अध्यक्ष आनन्द अधिकारी रहनुभएको थियो भने प्रमुख अतिथिका रूपमा साकुराको रुखलाई प्रतीकात्मक रूपमा राखिएको थियो।
कार्यक्रममा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका केन्द्रीय सचिव, गायक तथा संगीतकार राम कृष्ण बम मल्लले मन्तव्य राख्दै यस्ता साहित्यिक संस्थाहरूले कार्यक्रम सञ्चालनसँगै नेपाली भाषाको शुद्धताको विषयमा पनि विशेष पहल गर्नुपर्नेमा जोड दिनुभयो।
सांगीतिक प्रस्तुतीतर्फ राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका केन्द्रीय सदस्य गायक सुर्य खड्का तथा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान जापानका अध्यक्ष समुन्द्रराज पौडेलले गीत प्रस्तुत गरी कार्यक्रमलाई थप रोचक बनाउनु भएको थियो।

कार्यक्रममा डा. कुमार बस्नेत, प्रकाश पौडेल ‘माइला’, विष्णु प्रसाद घिमिरे, दीप पाठक, गिरिजा गैह्रे, रविन शर्मा, अरूण पौडेल, रविन्द्र गोर्खाली , मञ्जु गिरी, डिजी शर्मा, सुजन बैरागी,लक्ष्मण भन्तना ,निरज पाण्डे ,नविन कँडेल, जमुना रेग्मी, दिपेश गिरी, अप्सरा सुनार, शारदा पाण्डे, सुजता शर्मा, विष्णु सुबेदी, विश्वबन्धु भण्डारी, प्रिजम न्यौपाने, सुवास पोख्रेल, विनोद सापकोटा, सविना रेग्मी, लक्ष्मी पौडेल तथा दीपा घिमिरे लगायतका स्रष्टाहरूले आ–आफ्ना रचना वाचन गरी साहित्यिक वातावरणलाई जीवन्त बनाउदै नेपाली नयाँवर्ष २०८३ को शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमको संयोजन अनेसास जापानका सचिव यमलाल कँडेलले गर्नुभएको थियो भने स्वागत मन्तव्य सह–कोषाध्यक्ष सरिता चौधरीले व्यक्त गर्नुभएको थियो। कार्यक्रम सञ्चालन संस्थाका महासचिव मनोज मौसम केसीले गर्नुभएको थियो।

प्रवासमा रहेर नेपाली भाषा, साहित्य र संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले आयोजित यस कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूसहित करिब ७०–८० जनाको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रममा सहभागीहरूले सेलरोटी, बटुक रोटी , अचार ,पकौडा ,चटपट र चिया साकुराको फेदमा बसेर आत्मीय रूपमा सँगै ग्रहण गरेका थिए, जसले कार्यक्रमलाई अझ पारिवारिक र आत्मीय बनाएको थियो।

फेसबुकबाट तपाइको प्रतिक्रिया