काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एकाअर्काको खुट्टा तान्ने प्रवृतिले मुलुकको विकासमा अवरोध पुगेको बताएका छन् ।
बुधबार बालुवाटारमा सञ्चार उद्यमीको हकहितको संरक्षण गर्ने उद्देश्यका साथ गठन भएको सञ्चार उद्यमीहरुको नयाँ संगठन मिडिया अलायन्स नेपालका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री ओलीले मुलुक विकासको बाटोतर्फ अघि बढिरहेको तर एक–अर्काको खुट्टा तान्ने प्रवृतिले मुलुकको विकासमा अवरोध पुगेको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले सञ्चारमाध्यमले जनतामा ज्ञान छर्ने काम गर्नुपर्ने भन्दै देश विकासका लागि सञ्चारमाध्यमले सूचना र प्रेरणा दिएमात्र पुग्ने उल्लेख गरे । मुलुकभित्र एकअर्काबचि दुश्मनी सृजना गर्न खोजेर कोही पनि अघि बढ्न नसक्ने उनले बताए ।
प्रधानमन्त्री ओलीले देश र जनताको आवश्यकता अनुसार संविधानमा संशोधन गर्न सकिने स्पष्ट पारे । त्यस्तै उनले कतिपय सञ्चारमाध्यम चरित्र हत्या गर्ने प्रयत्नमा लागेको बताए । प्रधानमन्त्री ओलीले बिज्ञापन बोर्डको गठन छिटै हुने भन्दै कार्तिक सात गतेदेखि क्लिन फिड लागू गर्ने तयारीमा सरकार रहेको जानकारी दिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया