काभ्रे । चौँरी देउराली गाउँपालिकाका जनप्रतिनिधिले मदिरा सेवन गरेको भेटिए दोब्बर कारवाही गरिने भएको छ ।
दुई दिनअघि कार्यान्वयमा ल्याइएको ‘मदिरा प्रतिबन्ध गर्न बनेको कार्यविधि–२०७७’ प्रचारप्रसारमा जुटेको गाउँपालिकाले हरेक कार्यक्रममा ‘मदिरा सेवन गर्ने जनप्रतिनिधिलाई दोब्बर कारवाही’ को सन्देशसमेत दिइरहेको छ ।
कार्यविधिमा गाउँपालिकाभित्र व्यावसायिक मदिरा प्रतिबन्ध गर्ने जनाइएको हो । कार्यविधिको गाउँपालिकाका विभिन्न स्थानमा लगातार एक हप्ता चेतनामूलक कार्यक्रम गरिने अध्यक्ष दिननाथ गौतमले बताउनुभयो । उहाँका अनुसार कार्यविधिमा जनप्रतिनिधिलाई दोब्बर कारवाहीबारे उल्लेख नगरे पनि सेवन गरेको भेटिए कार्यविधिमा तोकिएको जरिवाना÷सजाय दोब्बर गरिनेछ ।
गाउँपालिकाले कार्यविधि प्रचारप्रसारको काम शनिबारदेखि थालेको हो । आव २०७७÷७८ को नीति तथा कार्यक्रममा व्यावसायिक मदिरा प्रतिबन्ध गर्ने गाउँसभाले पारित गरेको थियो । कार्यविधिमा गाउँपालिकाभित्र मदिरा बिक्री–वितरण गर्ने र ढुवानीसमेत गर्नेलाई चरणबद्ध कारवाही गरिने उल्लेख छ ।
गौतमका अनुसार मदिरा बेचविखन तथा ओसारपसार गरेको सूचना प्राप्त भई सम्बन्धित अधिकारवाला निकायले छापामारी चेक गर्दा प्राप्त मदिरा सबै बरामद गरी नष्ट गर्ने र त्यसको मूल्य बराबरमा दोब्बर जरिवाना गरिनेछ । पहिलो पटक रु पाँच हजार, दोस्रो पटक रु १० हजार र तेस्रो पटक रु २० हजार जरिवाना गरिने जनाइएको छ । सोभन्दा बढी पटक गरेको पाइएमा तेस्रो पटक गरिएको जरिवानाभन्दा दोब्बर गरिने कार्यविधिमा उल्लेख छ ।
मदिरा सेवन गरी हो–हल्ला गर्ने, खान दिने र खानेलाई समेत कारवाहीको दायरामा ल्याइने अध्यक्ष गौतमले बताउनुभयो। विभिन्न जाति, आदिवासी जनजातिको रितीरिवाज, संस्कार र संस्कृतिलाई कार्यविधिले कुनै असर नगर्ने गाउँपालिकाले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया