काठमाडौं । मौलिक पहिचानको पञ्चेबाजा एवं नौमती बाजाको संरक्षणमा लागेका कोरोना पीडित महिला समूहलाई राहत वितरण गरिएको छ ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनका कारण गत चैतदेखि काम नपाएका महिला पञ्चेबाजा समूहको ५० परिवारलाई चक्रपथ पश्चिम खण्डको सफाइ अभियानले शनिबार आयोजित कार्यक्रममा राहत वितरण गरेको हो ।
कार्यक्रममा वाग्मती प्रदेश प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले राहत हस्तान्तरण गर्नुभएको थियो । उहाँले सात महिनादेखि काम नपाएको महिला पञ्चेबाजा समूहका लागि आफूले पनि सहयोगको समन्वय गरिदिने प्रतिबद्धता जनाउनुभयो ।
अभियानले सहयोग जुटाएर १० केजीे चामल, एक केजीे दाल, एक केजीे नून, आधा लिटर तेललगायत खाद्य सामग्री वितरण गरिएको सफाइ संयोजक ताराबहादुर कुँवरले जानकारी दिनुभयो । समाजसेवी कुँवरले अहिलेसम्म १ हजार ४ सय ५० जनालाई राहत वितरण गरिसक्नुभएको छ ।पश्चिम खण्डमा चक्रपथ विस्तारको क्रम शुरु भएकाले कोरोनाबाट पीडित समूहलाई राहत वितरण गर्न थालिएको उहाँले बताउनुभयो ।
सो अवसरमा तारकेश्वर नगरपालिकामा कृष्णा क्षेत्रीको नेतृत्वमा क्रियाशील तारकेश्वर लोक सांस्कृतिक महिला नौमती बाजा समूह र बालाजुमा जानुका पौडेलको नेतृत्वमा क्रियाशील पञ्चेबाजा समूहका सदस्यलाई राहतस्वरुप खाद्य सामग्री वितरण गरिएको थियो ।
राहतबाट समूह सदस्यलाई केही दिनका लागि भएपनि जीवन निर्बाह गर्ने आधार बनेको क्षेत्रीको भनाइ थियो । अभियानले रगतको अभाव भएका बेला रक्तदान कार्यक्रमको समेत आयोजना गर्दै आएको छ । पाँचपटकमा गरी १ सय ६३ जनाले रक्तदान गरिसक्नुभएका उहाँ नेपाल हेभिइक्विपमेन्ट व्यवसायीका अध्यक्ष र हजुरलाई नमस्ते ट्रेड लिंकका सञ्चालक पनि हुनुहुन्छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया