मिर्गौलापीडित रानामगरलाई साढे छ लाख सहयोग

दमौली । दुवै मिर्गौला फेल भएर डायलासिस गराइरहेका तनहुँको व्यास नगरपालिका–१४ निवासी सन्तोष रानामगरलाई अमेरिकाबाट रु साढे ६ लाख सहयोग जुटेको छ ।

अमेरिकाको टेक्सास र न्यूयोर्कमा रहेका भीम थापा, भुवन आले, आशिष थापा र कुलदीप रानामगरको पहलमा रु छ लाख ४५ हजार २१० सहयोग जुटेको हो ।

उक्त रकम शनिबार पीडित रानालाई हस्तान्तरण गरिएको छ । रकम सङ्कलनकर्ता भीम थापाका बुवा ताराबहादुर थापा र सोही वडाका अध्यक्ष काजीमान श्रेष्ठले पीडितको घरमा पुगेर उक्त रकम हस्तान्तरण गरेका हुन् । अमेरिकामा रहेका नेपालीहरुले सङ्कलन गरेको रकमले पीडितको उपचारमा सहयोग पुग्ने वडाध्यक्ष श्रेष्ठले बताए ।

यसअगाडि स्थानीय युवाले गठन गरेको सन्तोष बचाउ अभियानमार्फत रानाको उपचारका लागि रु छ लाख ५८ हजार ६२४ सहयोग सङ्कलन भएको थियो । उक्त रकम पनि पीडितलाई हस्तान्तरण गरिसकिएको छ । सन्तोष बचाउ अभियानका संयोजक युवराज आलेले वैदेशिक रोजगारीका लागि विदेशमा रहेका नेपाली, जिल्लाभित्रकै विभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट सहयोग रकम सङ्कलन गरिएको जानकारी दिए।

मिर्गौलापीडित रानाले देश तथा विदेशबाट उपचारका लागि सहयोग गर्ने सबै सहयोगदाताप्रति आभार व्यक्त गर्दै अब बाँच्ने आशा पलाएको बताए । गत वर्षदेखि दुवै मिर्गौलाले काम गर्न छाडेपछि रानाले डायलासिस गर्दै आएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया