ट्राफिक अनलाइन सेवा प्रभावकारी,एक महिनामा दुई हजार ५ सय बढी सेवा प्राप्त

महानगरीय ट्राफिक प्रहरी महाशाखाले अघिल्लो महिनाबाट सञ्चालनमा ल्याएको अनलाइन सेवा प्रभावकारी देखिएको छ ।

एक महिनामा दुई हजार ५ सय भन्दा बढीले अनलाइनबाटै सेवा प्राप्त गरिसकेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । सवारीसाधान र त्यसका कागजातको सिफारिसका लागि महाशाखा धाउनुपर्ने बाध्यता हटाउँदै सेवालाई प्रविधिमैत्री बनाउने उद्देश्यले महाशाखाले गत असोज ५ गतेदेखि घरबाटै अनलाइन फाराम भरेर सेवा लिन पाउने व्यवस्था मिलाएको थियो ।

दैनिक दुई सयको हाराहारीमा सेवाग्राहीले महाशाखामा हराएको सिफारिसको लागि आवेदन दिने गरेकोमा हालसम्म अनलाइनमार्फत एक हजार ३ सय ८४ जनाले लाइसेन्स, एक हजार ६९ जनाले विलवुक र ४७ जनाले परमिट हराएको भनेर अनलाइनमार्फत निवेदन दर्ता गराएका महाशाखाले जनाएको छ । त्यसमध्ये एक हजार ७ सय १० जनालाई अनलाइनबाटै सिफारिस दिइएको छ ।

महाशाखाका अनुसार वाग्मती प्रदेशबाहेक अन्य प्रदेशमा दर्ता भएका तथा पूर्ण विवरण नभरेको, दोहोरो निवेदन दिएका ७९० निवेदन फिर्ता गरिएको छ । यसैगरी, उपत्यकामा ट्राफिक व्यवस्थापन सम्बन्धी अन्य सेवालाई समेत प्रविधिमैत्री बनाउन थालिएको छ । सर्भिलेन्स भेइकल्स, राडर गन, बे्रथलाइजरकोसमेत अधिकतम उपयोग गरी ट्राफिक नियम उल्लङ्घन विरुद्धसमेत कारवाही चलाइएको महाशाखाले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया