काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्तासमेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले व्यक्तिवाद व्यक्तिवाद, अहंकार, आवेग र आक्रोश कुनै पनि विषयको समाधान ननिकाल्ने बताएका छन्।
नेकपामा देखिएको पछिल्लो विवादका विषयमा आइतबार साँझ नेता श्रेष्ठले फेसबुकमा स्टाटस यस्तो लेखेका छन्।
हाम्रो पार्टी एकता महान क्रान्तिकारी उद्देश्यलाई केन्द्रमा राखेर र धेरै ठूलो मेहनत पसिना लगाएर हाँसिल गरिएको हो । यसको बिफलता र पार्टी फुट कदापि उचित र सही हुन सक्दैन । फुट र फुटजन्य कृयाकलाप राष्ट्र एवं कम्युनिष्ट आन्दोलनको आवश्यकता, आमकार्यकर्ता तथा शुभेच्छुकहरुको चाहना र जनादेश बिरुद्ध हुन्छ । तसर्थ पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिऔं र आआफ्नो ठाँउबाट एकताको रक्षाका निम्ति सक्रिय पहल गरौं । पार्टीको बैठक बसौं र सबै पक्षहरुका बारेमा खुला छलफल गरौं ।
पार्टी भित्र देखिएको छलफल, बहस र मतभेद अन्ततः बिचार ,सिद्धान्त, राजनीतिक कार्यदिशा र क्रान्तिकारी पार्टी निर्माण एवं सञ्चालन सम्बन्धी अवधारणासँग सम्बन्धित रहेको हुन सक्ने भएपनि अहिले नै त्यसबारेमा औपचारिक छलफल नभएकाले स्पष्ट मतभेद देखापरिसकेको छैन । तसर्थ यतिबेला पार्टी एकताको रक्षाको निम्ति सबैबाट एउटै कुरामा इमान्दार प्रतिबद्धता भए पुग्छ, पार्टीको बिधि ,पद्धति एवं निर्णयको पालना र कार्यान्वयन ।
व्यक्तिवाद, अहंकार ,आवेग र आक्रोशले समाधान दिँदैन र कसैको हित गर्दैन । देश,जनता ,श्रमजीवी बर्ग र पार्टी तथा आन्दोलनलाई केन्द्रमा राखेर सोचौं र सकारात्मक निष्कर्ष निकालौं । जान वा अन्जानमा देशी र विदेशी प्रतिकृयावादी शक्तिहरुको चाहना पुरा गर्ने कार्य कसैबाट हुन नजाओस् ,सबैले समयमै सोचौ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया