काठमाडौं । बीमा समितिबाट जारी गरिएको बीमालेखअनुसार कोरोना बीमा दाबी गरेका बिमितहरुको पिसिआर परीक्षण प्रतिवेदन ‘पोजिटिभ’ प्रमाणित भएपछि बीमालेख बमोजिम प्रदान गरिने बीमाङ्क रकम भुक्तानी दाबी गरेका सबै बिमितहरुलाई सम्बन्धित बीमा कम्पनीले एक हप्ताभित्र भुक्तानी दिने भएका छन् ।
अर्थमन्त्री विष्णु पौडेलको उपस्थितिमा अर्थमन्त्रालयमा मंगलबारभएको बैठकले बीमा रकम भुक्तानीसम्बन्धी समन्वय र अनुगमन बीमा समितिले गरी दाबी भुक्तानीको दैनिक प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउने निर्णय गरेको छ ।
कोरोना बीमाको दावी भुक्तानीका सन्दर्भमा सेवाग्राहीबाट आएका गुनासाहरुको सुनुवाई गरी समस्या समाधानका लागि सम्बन्धित बीमा कम्पनीहरुलाई निर्देशन दिन ‘हटलाइन’ टेलिफोनसहितको सहयोग कक्ष सञ्चालन गर्ने व्यवस्था बीमा समितिले तत्काल मिलाउने निर्णय पनि भएको छ । त्यस अवसरमा मन्त्री पौडेलले बिमितहरुले बिमाङ्क रकम दाबी गर्नासाथ अविलम्ब भुक्तानी दिने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिए ।
बैठकमा अर्थ मन्त्रालयका सचिवद्वय शिशिरकुमार ढुङ्गाना, रामशरण पुडासैनी, बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँ, बिमक सङ्घका अध्यक्ष दीपप्रकाश पाण्डेलगायत सहभागी रहेका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया