हुलाक सेवालाई युगसुहाउँदो बनाउनु जरुरी छः मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले हुलाक सेवालाई युगसुहाउँदो बनाउन जरुरी रहेको बताएका छन् ।

सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा हुलाक सेवा विभागका पदाधिकारीसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री गुरुङले धेरै वर्षअघि सञ्चारको एक मात्रै विश्वसनीय माध्यम हुलाक सेवालाई बदलिँदो परिवेशअनुसार अघि बढाउन नयाँ सोचको आवश्यकता औँल्याए ।

उनले हुलाक सेवालाई विश्वसनीय र भरपर्दो बनाउन सरोकार पक्षसँग आवश्यक छलफल गरिने बताउँदै त्यसका लागि नयाँ सोचसहितको कार्ययोजना ल्याउन विभागका पदाधिकारीलाई आग्रह गरे। सरकारका प्रवक्ता गुरुङले विकसित मुलुकमा पनि हुलाक सेवाको महत्व बढ्दै गएको बताउँदै यसको सेवालाई छिटो, छरितो र भरपर्दो बनाउन निर्देशन दिए ।

त्यसका लागि आवश्यक ऐन, कानुन, नीति, कार्यविधि परिमार्जन गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री गुरुङको भनाइ थियो । उनले निजी क्षेत्रबाट सञ्चालित कार्गो सर्भिसलाई व्यवस्थित बनाइने प्रतिबद्धता व्यक्त गरे ।

आजै मन्त्री गुरुङले मुद्रण विभाग, प्रमाणीकरण नियन्त्रणको कार्यालय र सुरक्षण मुद्रण केन्द्रबारे पनि जानकारी लिएका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया