एसियाली मुलुकमध्ये नेपाल भ्रष्टाचारमा सबैभन्दा अगाडि देखिनु दुःखदः कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले ‘भ्रष्टाचारीको अनुहार नहेर्ने’ प्रधानमन्त्रीलाई ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन पढ्न आग्रह गरेको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गरी वर्तमान सरकार बनेपछि मुलुकमा भ्रष्टाचार व्यापक बढेको र प्रधानमन्त्री स्वयंले संरक्षण गरेको भनेर नेपाली कांग्रेसले व्यक्त गरिआएको समीक्षालाई अन्ततः ट्रान्सपरेन्सी इन्टरनेशनलको ताजा प्रतिवेदनले पुष्टि गरेको उल्लेख गरेका छन् ।

उनले पछिल्लो एकबर्षमा एसियाली मुलुकहरूमा नेपालको स्थिति भ्रष्टाचारमा सबैभन्दा अगाडि देखिनु दुःखद भएको भन्दै भ्रष्टाचारीको संरक्षण स्वयं प्रधानमन्त्रीले गरिरहेको किटानी विवरण प्रतिवेदनमा रहेकोे स्थिति देशकै लागि लज्जास्पद रहेको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘एकातर्फ भ्रष्टाचारीको अनुहारसम्म हेर्दिन भनेर अभिव्यक्ति दिने अर्कातर्फ भ्रष्टाचारको अनेक प्रकरण ढाकछोप गर्न ओहोदाकै मर्यादासम्म प्रधानमन्त्रीले बिर्सिदिने, शक्ति प्रधानमन्त्री कार्यालयमा केन्द्रित गरेर अति शक्तिले अति भ्रष्ट बनाउंछ भन्ने मान्यतालाई पुष्टि गर्न तर्फ लाग्ने अनि भ्रष्टाचार विरुद्ध उठेका आवाजलाई पुर्वाग्रहपूर्ण देख्ने यस्तो प्रवृत्तिले मुलुकमा झनै बेथिति र भ्रष्टाचार बढाउने अनुमान गर्न सकिन्छ । वाइडबडी, बालुवाटार, यति देखि सेक्युरिटी प्रीन्टिङ प्रेस हुँदै स्वास्थ सामग्री खरिद सम्ममा भएको भ्रष्टाचार प्रकरण उपर निष्पक्ष छानबिन र कडा कार्वाहीका लागि नेपाली कांग्रेसले विगत देखिनै संस्थागत निर्णयहरुका साथ माग राख्दै आएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलको पछिल्लो प्रतिवेदनले हाम्रा ती माग तथ्यपूर्ण रहेकोे पुष्टि गरेको छ ।’

फेसबुकबाट तपाइको प्रतिक्रिया