काभ्रेपलाञ्चोक । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेकपामा अहिले पद चाहिने पार्टीको आगामी महाधिवेशन कुर्न आग्रह गरेका छन् ।
नेपाल सरकार तथा एशियाली विकास बैंक एडीबीको आर्थिक सहयोगबाट राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना एकाइ शिक्षाको विपद् उत्थानशील विद्यालय परियोजनामार्फत काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–१ सापिङस्थित रिठ्ठेमा आज सेतीदेवी माध्यमिक विद्यालयको तीनतले १२ कोठे नवनिर्मित भवनको उद्घाटन गर्दै पूर्वमन्त्री बाँस्कोटाले नेकपामा पदको चाहना गर्नेले धैर्यता राखेर महाधिवेशन कुर्न आग्रह गरेहा हुन्।
नेकपाका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्यसमेत रहेका बाँस्कोटाले महाधिवेशन कुर्न पनि धैर्यताको वैज्ञानिक आधार हुनुपर्ने बताए। “पार्टीभित्र व्यक्तिगत आरोप–प्रत्यारोपमा उत्रनु हुन्न, यसले समस्या झन बल्झाउँछ, तथ्यगत रुपमा बहस–विमर्श हुनु जरुरी छ”, उनले भने । उनले नेकपा मिलाउने जिम्मा नेकपाकै भएकाले नेकपा नफुट्ने दाबीसमेत गरे । “नेकपा फुट्न पनि सक्दैन, फुट्न पनि दिइने छैन”, उहाँले थपे। बाँस्कोटाले नेकपामा विवादमा अधिकतम सैद्धान्तिक, वैचारिक, राजनीतिक र तथ्यगत विषयको टुङ्गो लाग्नुपर्ने बताए । “जनताको चाहना नेकपा एक भएको हेर्ने नै छ, छ–छ महिनामा सरकार फेरिएको हेरिरहेका जनताले पाँचवर्षे एउटै सरकार भएको हर्ने चाहना हो, त्यसमा पनि राजनीतिक स्थिरता मूल कुरा हो”, उनले भने ।

फेसबुकबाट तपाइको प्रतिक्रिया