हवाई सुरक्षामा बहुआयामिक सुधारका कारण नेपाल छिट्टै इयूको कालो सूचीबाट हट्ने

काठमाडौं । हवाई सुरक्षा प्रणालीमा बहुआयामिक सुधारका कारण नेपाल छिट्टै युरोपेली संघ (इयू) को कालोसूचीबाट हट्ने देखिएको छ । उडान सुरक्षामा आधुनिक सुरक्षा प्रणालीको अवलम्बन, प्रभावकारी नियमन तथा क्षमतावृद्धिलगायत कारणले नेपालको उड्डयन क्षेत्रमा गरिएको सुधारको प्रशंसा गर्दै इयूले नेपाललाई सुरक्षा सूचीबाट हटाउने सङ्केत गरेको हो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) स्थापना दिवसका अवसरमा आइतबार विज्ञप्ति जारी गर्दै इयूले नेपालको पछिल्लो समयको सुधारलाई प्रशंसा गरेको छ । यसबाट नेपालमाथि उडान प्रतिबन्ध फुकुवा हुने सङ्केत मिलेको छ ।

इयूको चासोअनुरुप नेपाल सरकारले हवाई सुरक्षामा देखिएको चुनौती समाधान गर्न देखाएको प्रतिबद्धता, नेपालको उड्डयन क्षेत्रले सुरक्षामा उल्लेख्य प्रगति तथा नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) विभाजनसम्बन्धी विधेयक संसद्मा पारित हुने प्रक्रियामा रहेकाले पनि सकारात्मक प्रगति हुने अपेक्षा गरिएको छ । “नयाँ हवाई उड्डयन विधेयक संसद्मा दर्ता गराएको सहित नेपालले गरेका सुधारका विषयमा इयू जानकार छ”, विज्ञप्तिमा उल्लेख छ । नेपालको यस्तो प्रयासले सुरक्षा सूचीबाट हटाउने प्रक्रिया सुरु गर्न सहज हुने इयूले उल्लेख गरेको छ । खासगरी संसद्मा दर्ता भएको विधेयकले सुरक्षा सूचीबाट हटाउन लागू हुने तीन मापदण्ड कार्यान्वयनमा लैजान सकिने पनि इयूले स्पष्ट पारेको छ ।

त्यसैगरी हवाई सुरक्षाको प्रभावकारी कार्यान्वयन भए नभएको जानकारी लिन महानिर्देशकसहितको टोलीले नेपालमा भ्रमण गर्ने र नियोगले तयार गरेको प्रस्तावका आधारमा युनियनको हवाई सुरक्षा समितिले सुरक्षा सूचीबाट हटाउन सकिने प्रक्रिया पूरा हुनेछ । नेपालले हवाई सुरक्षाको समग्र क्षेत्रमा अन्तर्राष्ट्रियस्तरदर राम्रो रहेका सन्दर्भमा इयूको विज्ञप्तिले नेपाल छिट्टै सुरक्षासूचीबाट हट्ने विश्वास बढेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए । “इयूको विज्ञप्ति सकारात्मक छ, ओभरअल सेफ्टीमा हाम्रो उपलब्धि राम्रो छ, नेपालले आफ्नातर्फबाट आवश्यक तयारी गर्नुपर्छ”, उनले भने ।

नेपालको हवाई सेवामा प्रश्न उठाउँदै इयूले सात वर्षअघि अर्थात् सन् २०१३ डिसेम्बर ५ तारिखदेखि सुरक्षण सूचीमा राखेको थियो । सोही कारण नेपाली हवाई सेवा प्रदायकलाई उडानमा प्रतिबन्ध लगाइएको थियो । यसअघि सन् २०१७ आइकाओले नेपाली जहाजलाई चार वर्षदेखि लगाउँदै आएको गम्भीर सुरक्षा चासो सूचीबाट हटाएको थियो ।

क्यानले यही मंसिर १२ गते प्रकाशन गरेको ‘एभिएसन सेफ्टी रिपोर्ट–२०२०’ ले नेपालमा हवाई दुर्घटना दर घटेको देखाएको थियो । उडान सुरक्षामा आधुनिक सुरक्षा प्रणालीको उपयोग तथा जनशक्तिको क्षमता अभिवृद्धिलगायत कारणले नेपालको हवाई दुर्घटनादर घटेको र यसबाट हुने मृत्युदर पनि घटेको प्रतिवेदनमा उल्लेख छ ।

पछिल्लो १० वर्षका अवधिमा नेपालको हवाई उड्डयन सुरक्षास्तर दरमा प्रगति हुनाले पनि यसको पुष्टि गर्छ । प्राधिकरणले सार्वजनिक गरेको सन् २०१९ को एभिएसन सेफ्टी रिपोर्टमा नेपालको हवाई क्षेत्रमा जहाजतर्फ एक दुर्घटना र तीनको मृत्यु भएको छ । सन् २०१० मा दुई दुर्घटनामा ३६ को मृत्यु भएको थियो ।

त्यस्तै हेलिकोप्टरतर्फ सन् २०१९ दुई दुर्घटनामा सात जनाको मृत्यु भएको छ । क्यानका अनुसार नेपालको उडान सुरक्षादर आइकाओले निर्धारण गरेको ६० प्रतिशतभन्दा माथि नेपालले करिब ६७ प्रतिशत प्रगति गरेको छ । एसिया प्रशान्त क्षेत्रका मुलुकको हवाई सुरक्षादर ६४ प्रतिशत रहेको जनाइएको छ ।

आइकाओको ग्लोबल एभिएसन सेफ्टी प्लानको ६० प्रतिशतभन्दा माथि नेपालको प्रगति रहेको र सो स्तरदरलाई ७५ प्रतिशत पु¥याउने लक्ष्यका साथ काम गर्नुपर्ने क्यानले उल्लेख गरेको छ ।

आइकाओ दिवसका अवसरमा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित झण्डोत्तोलन कार्यक्रममा नागरिक उड्डयमन्त्री योगेशकुमार भट्टराईले इयूले नेपालको हवाई उड्डयनलाई कालो सूचीबाट हटाउने सङ्केत दिएकामा खुशी व्यक्त गर्दै उसले जारी गरेको वक्तय स्वागतयोग्य भएको बताए ।

पछिल्लो समय नेपालले नागरिक उड्डयन क्षेत्रमा सङ्गठनात्मक पुनःसंरचना गर्नका लागि विधेयक तयार गरी संघीय संसद्मा छलफल गरिरहेको र संसद्बाट ऐन पारित भएपछि इयूले उठाएका अधिकांश चासो सम्बोधन हुने मन्त्री भट्टराईले स्पष्ट पारे । नेपालले नागरिक उड्डयन क्षेत्रमा गरेको सुधारका कारण दुर्घटनासमेत कम हुँदै गएका अवस्थामा युरोपेली संघले सकारात्मक वक्तव्य जारी गर्नाले उत्साहित बनाएको पनि उनले बताए ।

क्यानका उपमहानिर्देशक राजकुमार क्षेत्रीले इयूको विज्ञप्तिअनुसार नेपालमाथि लगाएको उडान प्रतिबन्ध चाँडै हट्ने विश्वास व्यक्त गरे । उनले भने, “इयूको विज्ञप्तिमा नेपाललाई कालोसूचीबाट हटाउने सङ्केत देखिन्छ, यसले हामीलाई उत्साहित बनाएको छ । नेपालले हवाई क्षेत्रमा गरेका सुधारको कागजात पठाएकै आधारमा इयूले प्रसंशा गरेको छ, यसबाट पनि प्रष्ट हुन्छ इयू मानसिक रुपमा तयार भइसकेको छ, अब प्राविधिक प्रक्रिया पूरा गरेर छिट्टै नेपाललाई सुरक्षा सूचीबाट हटाउनेछ ।”

विमानस्थलका निमित्त महाप्रबन्धक देवचन्द्रलाल कर्णले पनि आइकाओको पाँच विषयवस्तुलाई आत्मसात् गर्दै निरन्तरताको प्रयासबाट नेपालले उल्लेख्य प्रगति गरेको तथा आइकाओ दिवसकै सन्दर्भमा इयूले नेपालमाथि लगाएको उडान प्रतिबन्ध खुला गर्ने सङ्केत दिने गरी जारी गरेको विज्ञप्तिबाट नेपाल इयुको सुरक्षा सूचीबाट चाँडै हट्ने विश्वास व्यक्त गरे ।

क्यानका अनुसार कोभिड संक्रमण कम हुनासाथ इयूको प्रतिनिधिमण्डलले नेपालको हवाई उड्डयन क्षेत्रको प्राविधिक मूल्याङ्कनपछि नेपाललाई सुरक्षा सूचीबाट हटाउने छ ।

आइकाओ दिवसमा झण्डोत्तोलन
डिसेम्बर ७ अर्थात् अन्तर्राष्ट्रिय नागरिक उड्डयन (आइकाओ) दिवस सोमबार नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ । छयत्तरौँ आइकाओ दिवसका अवसरमा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झण्डोत्तोलन गरियो ।

सो सन्दर्भमा नागरिक उड्डयनमन्त्री भट्टराईले त्रिभुवन विमानस्थलको टर्मिनल भवन परिसरमा नेपालको राष्ट्रिय झण्डा र आइकाओको झण्डोत्तोलन गरे ।

मन्त्रालय र क्यानले आयोजना गरेको उक्त कार्यक्रममा मन्त्रालयका सचिव यादवप्रसाद कोइरालालगायत मन्त्रालय, क्यान, विमानस्थल र नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का कर्मचारी, निजी क्षेत्रका वायुसेवा प्रदायक कम्पनीका प्रतिनिधि एवं पर्यटन व्यवसायीको सहभागिता थियो । कोभिड–१९ महामारीका कारण यस वर्ष विगतमा झैँ बिहान प्रभातफेरी आयोजना गरिएन । स्वास्थ्य मापदण्ड पालना गर्दै सामाजिक दूरी कायम गरेर सीमित सङ्ख्याको उपस्थितिमा औपचारिक कार्यक्रम गरिएको हो ।

सन् १९०३ डिसेम्बर ७ तारिखका दिन अमेरिकी राइट ब्रदर्सले पहिलोपटक हवाई जहाज उडाएको सम्झनामा यो दिवस मनाइने गरिन्छ । सन् १९९४ मा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्थाको ५०औं वार्षिकोत्सवका अवसरमा दिवस मनाउन सुरु गरिएको हो । पछि संयुक्त राष्ट्र संघ महासभाले पनि डिसेम्बर ७ लाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसका रुपमा मान्यता दिएको थियो । सन् १९५७ मा नेपालमा क्यान स्थापना भएको हो । रासस

फेसबुकबाट तपाइको प्रतिक्रिया