जापान । चितवनको माडी नगरपालिका वडा नं ७ देबेन्द्रपुरको परुई नदी किनारमा बसोवास गरेका ५६ सुकुम्बासी परिवारलाई आइतबार जाडोका कपडाहरू वितरण गरिएको छ । जाडोको समयमा सुकुम्वासीको परिवारको पिडा देख्न नसकिएकोले सामुहिक प्रयासबाट आर्थिक संकलन गरि पठाईएको चितवन समाजका अध्यक्ष राजनकुमार श्रेष्ठले बताउनु भयो ।
चिसो बढेसँगै परुई किनारका सुकुम्बासी चेपाङ परिवारलाई प्रति परिवार एक एक थान ब्लाङ्केट, तकिया र म्याट वितरण गरिएको हो । ब्लाङ्केट, तकिया र म्याट वितरण गर्दै माडी नगरपालिका नगर प्रमुख ठाकुरप्रसाद ढकालले सुकुम्बासी चेपाङ समुदायका सुकुम्बासीहरुलाई सहयोग गर्ने चितवन समाज जापानलगायत सहयोग गर्ने सम्पूर्ण महानुभावहरुलाई धन्यवाद दिनुभयो ।
उहाँले सुकुम्बासीहरुलाई पुर्जासहितको जग्गा उपलब्ध गराउने र नमूना बस्ती निर्माणको कार्य माडी नगरपालिका योजनाबद्ध तरिकाले अगाडि बढिरहेकोले धैर्य गर्न आग्रहसमेत गर्नुभयो ।
कार्यक्रममा चितवन समाज जापानका महासचिव हरि पौडेलले जापानमा रहेका नेपालीहरुले नेपालमा विभिन्न सहयोग गरिरहेको जानकारी गराउँदै आवश्यक परे सुकुम्बासी बस्तीमा थप सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले आत्मनिर्भर भएर आय आर्जनको बाटोमा लाग्न आग्रहसमेत गर्नुभयो ।
कार्यक्रममा सुकुम्बासी बस्ती व्यवस्थापन समितिका अध्यक्ष छवि चेपाङले विपत्तिको बेलामा सुकुम्बासी चेपाङ परिवारलाई सहयोग गर्ने चितवन समाज जापानलगायत सम्पूर्ण सहयोगीहरुप्रति सुकुम्बासी चेपाङ परिवारको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।
चितवन सेवा समाज अन्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चितवन समाज जापानका पुर्व उपाध्यक्ष दिपक गौतम, चितवन सेवा समाजका उपाध्यक्ष टङ्क गैरे, महासचिव इन्द्रप्रसाद न्यौपाने, कार्यसमिति सदस्य रविन्द्र शाक्य, समाजसेवी हरिकुमार श्रेष्ठ,सुनिल पौडेललगायतको उपस्थिति रहेको थियो भने राहत सामग्री वितरणको समन्वय र सहजीकरण सञ्चारकर्मी नारायण सापकोटाले गर्नुभएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया