अमेरिकी विदेश र रक्षामन्त्री जापान भ्रमणमा, आर्थिक र सुरक्षा बारे छलफल

टोकियो । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र रक्षा मन्त्री लोयड अस्टिन जापानको भ्रमणमा टोकियो आईपुगेका छन् ।
टोकियोमा बुधवार जापानी विदेश मन्त्रीसँगको प्रारम्भिक चरणको वार्तापछि अमेरिकी मन्त्रीहरुले एसिया–प्रशान्त क्षेत्रमा अस्थिरता निम्त्याउने गरी चीनले अघि सारेका गतिविधिहरु स्वीकार्य नहुने चेतावनी दिए ।
चीनको प्रभाव बढ्दै गएको भन्दै अमेरिकाको वर्तमान जो बाइडेन प्रशासनले आफ्ना साझेदार मुलुकहरु बीचको परम्परागत गठबन्धन अझ सुदृढ गर्ने योजना अघि सारेको जनाएके छ ।
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले गठबन्धन मुलुकलाई चिढ्याएका कारण अमेरिका र यसका साझेदार मुलुकले दबाब खेप्नु परेको भन्दै बाइडेन प्रशासनले गठबन्धनलाई पुनर्जीवित तुल्याउने घोषणा गरेका छन् ।
यो भ्रमन बाइडेन क्याबिनेट सदस्यहरूको पहिलो विदेशी भ्रमण हो र संयुक्त राज्य अमेरिका, जापान, अष्ट्रेलिया र भारत लगाएको अन्तिम साताको भर्चुअल शिखर सम्मेलन पछिको यस भ्रमनलाई चासोका साथ हेरिएको छ ।

जापानी समकक्षीसँगको भेटवार्तापछि जारी संयुक्त वक्तव्यमा उनीहरुले चीनका पछिल्ला गतिविधिहरु विश्व मामिला अनुकूल नभएको दाबी गर्दै चीनका यी गतिविधिबाट विश्वमै राजनीतिक, आर्थिक, सैनिक र प्रविधिगत चुनौतीहरु बढेको बताइएको छ ।

अमेरिका र जापान दुवै पक्षले एसिया प्रशान्त क्षेत्रमा विकास भइरहेका गतिविधिहरूप्रति गम्भीर चासो व्यक्त गरेका छन् ।
अस्टिन र ब्लिन्केनले उत्तर कोरियाली नीतिको पनि समीक्षा गर्ने अपेक्षा गरिएको छ । वक्तव्यमा उनीहरुले उत्तर कोरियालाई पूर्ण आणविक निशस्त्रीकरणका लागि आग्रह गरेका छन् ।

उनीहरुले उत्तर कोरियाली आणविक हातहतियारहरू अन्तर्राष्ट्रिय शान्ति र स्थायित्वका लागि खतरा रहेको पनि बताएका छन् । तर विदेश मन्त्री ब्लिन्केनले उत्तर कोरियाली नेता किम जङ अनकी बहिनीले दिएको वक्तव्यका बारेमा कुनै टिप्पणी गर्न चाहेनन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया