टोकियो । नयाँ कोरोना भाइरस संक्रमण बढ्दै गएपछि जापानको राजधानी टोकियोका गभर्नर युरिको कोइकेले सरकारलाई आपतकालिन अवस्था जारी गर्न अनुरोध गर्ने भएकी छिन् ।
टोकियोमा नयाँ कोरोना भाइरस संक्रमणको संख्या बढ्दो कारण आफुले आपतकाल घोषणाको लागि सरकारलाई अनुरोध गर्ने बिचार गरेको कोइकेले बताएकी हुन ।
‘टोकियोमा अघिल्लो साताको तुलनामा यो साता १२५ प्रतिशत कोरोना संक्रमण बढेको छ र यो निरन्तर बढिरहने क्रममा देखिएको छ । संक्रमण घट्ने कुनै संकेत देखिएको छैन ।’ गभर्नर कोइकेले अप्रिल १८ तारिख साँझ पत्रकारहरुलाई भनिन् ‘यस्तो देखिन्छ कि शहरी इलाकामा धेरै युवाहरुको बाहिरि यात्रा जारी छ । मलाई लाग्दैन कि मानिसहरुको यो बाहिरि बहाव कम हुने अवस्था छ ।’
यस बारेमा बोल्दै कोइकेले भनिन् ‘अब, यो पहल गर्नु आवश्यक छ कि सकेसम्म चाँडो कदम चालेर प्रभावकारी तरिकाले संकट व्यवस्थापन गर्नुपर्दछ । संक्रमित व्यक्तिको बृद्धिलाई नियन्त्रण गर्न र चिकित्सा स्याहार प्रदान गर्न प्रभावकारी विधिहरू कार्यान्वयन गर्नुपर्दछ । प्रणालीलाई सुदृढ पार्ने उपायहरु अन्तर्गत हामीले सरकारलाई आपतकालिन अवस्था जारी गर्न अनुरोध गर्नका लागि द्रुत गतिमा विचार गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छौं ।’
यस बारेमा सोधिएको थप जिज्ञासामा टोकियो महानगर गर्भनर कोइकेले भनिन् ‘संक्रमणको पुष्टि बढ्दो प्रवृत्तिमा छ र हामीले संक्रमणगतिको आधारमा सोच्नुपर्दछ ।’
ओसाका, सहित ह्योगो लगायत कयौं प्रिफेक्चरले समेत अर्ध आपतकालिन उपायहरु अपनाउँदै शहरी क्षेत्रमा केही कडा नियम लागू गरेपनि संक्रमण नियन्त्रण उन्मुख नदेखिएपछि आपतकालिन अवस्था घोषणा गर्नुपर्ने राय व्यक्त गर्न थालेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया